हेटौँडा, १ भदौं/बागमती प्रदेशका बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिने सहमति भए पनि अझै कार्यान्वयन भएको छैन ।
मन्त्रालय फुटाएरै/बढाएरै भए पनि बिनाविभागीय मन्त्री रामकृष्ण चित्रकारलाई जिम्मेवारी दिनेबारे सत्ता गठबन्धनका दलहरूबीच सहमति भएको १० दिन बितिसके पनि उनले अझै जिम्मेवारी पाएका छैनन् ।
बागमती प्रदेशमा ११ वटा मन्त्रालय रहेकामा मन्त्रालय फुटाएर १२ बनाउने गरी साउन २१ गते सत्ता गठबन्धनका दलबीच काठमाडौँमा राजनीतिक सहमति भएको थियो । राजनीतिक सहमतिपछि झन्डै तीन महिनादेखि मन्त्रालयविहीन नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेतासमेत रहेका बिनाविभागीय मन्त्री चित्रकारलाई गतसाता नै मन्त्रालयको जिम्मेवारी दिने सहमति जनाइएको थियो ।
सहमतिपछि मन्त्रालय पाउने विश्वासका साथ प्रदेश राजधानी हेटौँडा आएका मन्त्री चित्रकार बुधबार नै जिल्ला फर्केका छन् । सहमति कार्यान्वयन हुन्छ भन्ने विश्वासमा तीन-चार दिन हेटौँडा बसेको बताउँदै मन्त्री चित्रकारले मुख्यमन्त्रीलाई समेत नभेटी बुधबार नै ललितपुर फर्किएको बताए ।
मन्त्री चित्रकारले भने, “सुरुमा कार्यविभाजन नियमावली नै संशोधन हुनुपर्छ । मन्त्रीपरिषद्को बैठक नै नबसेकाले नियमावली संशोधनको सम्भावना रहेन, मुख्यमन्त्रीसँग पनि भेट भएन, प्रदेशका प्रमुख सचिवसमेत विदेशमा गएकाले कार्यविभाजन अलमलमा परेको हो ।” मन्त्रीपरिषद् बैठक कहिले बस्ने भन्ने निश्चित नभएको उनले बताए ।
बागमती प्रदेश सरकारको मन्त्रीपरिषद् बैठक साउन १४ पछि बसेको छैन । पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय फुटाउने र मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा रहेको प्रशासन महाशाखालाई जोडेर सामान्य प्रशासन तथा उद्योग मन्त्रालय बनाउने राजनीतिक सहमति बनेको छ ।
बागमती प्रदेश (कार्यविभाजन) नियमावली २०७४ पछिल्लो पटक गत फागुन १६ गते मन्त्रीपरिषद् बैठकबाट संशोधन गरी राजपत्रमा प्रकाशित भएको थियो । नियमावलीमा यसअघि राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारले १४ वटा मन्त्रालय बनाएकोमा गत फागुनमा अनुसूचीमा हेरफर गरी ११ वटा मन्त्रालय बनाइएको थियो । बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता एवं प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री बहादुरसिंह लामाले कार्यविभाजन गर्नेबारे लामो छलफलपछि सहमति जुटेको भन्दै मन्त्रीपरिषद् बैठक बसेर नियमावलीमा आवश्यक संशोधन गरी सहमति कार्यान्वयन गरिने बताउनुभयो ।
मुख्यमन्त्रीसहित मन्त्रीहरू पार्टी बैठकलगायतका पार्टीको अभियानमा लागेकाले कार्यविभाजन र मन्त्रालयमा बिनाविभागीय मन्त्रीको पदभारमा ढिलाइ हुँदै आएको छ । गत जेठ ७ गते दलहरूबीच मन्त्रालय बाँडफाँट गरी मन्त्रीपरिषद्ले पूर्णता पाएपनि कुन मन्त्रालय फुटाउने भन्नेमा सहमति नजुट्दा कार्यविभाजन हुन सकेको थिएन । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गत जेठमा कांग्रेसबाट चार र नेकपा (एकीकृत समाजवादी) बाट दुई गरी छ जना मन्त्री थप गरेर मन्त्रीपरिषद् विस्तार गरेका थिए ।



