माओवादी जनयुद्धका सैन्य योजनाकारदेखि एमाले संसदीय दलको नेतासम्म

0
45

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्वाचित भएका छन् । बुधबार केन्द्रीय कार्यालय च्यासलमा भएको निर्वाचनमा उनी दलको नेता चयन भएका हुन् । दलको नेतामा इलाम–२ बाट निर्वाचित युवा सांसद सुहाङ नेम्वाङले पनि दाबी गरेका थिए । सुहाङ नेम्वाङले उम्मेदवार फिर्ता लिएसँगै बादल दलको नेता चयन भएको निर्वाचन समितिका संयोजक नीरज आचार्यले जानकारी दिए । भर्खर सम्पन्न निर्वाचनमा एमालेले जम्मा २५ सिट जितेको थियो ।

मङ्सिरमा भएको एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका बादल पूर्वमाओवादी नेता हुन् । फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा अध्यक्ष केपी ओली सहित प्रत्यक्षतर्फ उठेका सबै पदाधिकारी पराजित भएपछि दलको नेता बन्ने अवसर उनले पाए । यो पटक बादल समानुपातिक बन्दसूचीमा रहेका थिए ।

को हुन् बादल ?

वि.सं. २०१२ साल वैशाख १९ गते गुल्मीमा जन्मिएका उनी २०३१ सालदेखि वामपन्थी आन्दोलनमा सक्रिय सहभागी भएका थिए । चितवनको रामपुर कृषि क्याम्पसबाट बीएस्सी-एजी अध्ययनका क्रममा हाल नेपाली कम्युनिस्ट पार्टीका संयोजक रहेका पुष्पकमल दाहाल प्रचण्डसँग भेट भएपछि बादल माओवादी आन्दोलनलाई अगाडि बढाउन सक्रिय भए । २०५२ सालमा नेकपा माओवादीले सशस्त्र आन्दोलन गर्दा उनी सैन्य योजनाकार थिए । पुराना कम्युनिस्ट नेता अमिक शेरचनबाट बादलले कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । २०३७ देखि २०६३ सालसम्म बादल भूमिगत भए । उनी २०४२ मा नेकपा(मशाल)को केन्द्रीय सदस्य बने । २०४४ सालमा उनी बागमती अञ्चलको इन्चार्ज बने । २०५२ सालमा नेकपा माओवादीले सशस्त्र विद्रोह गर्दा उनी मुख्य नेतामध्ये एक थिए । जनयुद्धकालदेखि शान्तिप्रक्रियामा सहभागी हुँदा समेत उनलाई प्रचण्डको सहपाठी र सहयोगीका रूपमा भूमिका निर्वाह गर्दै आएको इमानदार पात्रका रूपमा परिचित थिए ।

२०६२ सालमा तत्कालीन सरकार र विद्रोही माओवादीबिच १२ बुँदे सहमति भएपछि उनी शान्तिपूर्ण राजनीतिमा आए । २०६४ सालमा भएको निर्वाचनमा बादल चितवन–२ बाट निर्वाचित भए । २०६५ सालमा उनी प्रचण्ड नेतृत्वको सरकारमा रक्षा मन्त्री भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here