हेटौंडा, १३ असार/आगामी ६ महिनाभित्र हेटौंडा अस्पतालमा मृगौला प्रत्यारोपण हुने भएको छ । हेटौडा अस्पतालले शहिद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा मृगौला प्रत्यारोपण सेवा सुरु गर्ने तयारी गरेको हो ।
धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको सहकार्यमा हेल्थपाटी डटकमले आयोजना गरेको अंगदान र प्रत्यारोपण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.रामचन्द्र सापकोटाले यस्तो जानकारी दिएका हुन् ।
मृगौला प्रत्यारोपणको तयारी स्वरुप हेटौंडा अस्पतालमा पूर्वाधार निर्माणसँगै आवश्यक उपकरण खरिदको कार्य भैरहेको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले हेटौडा अस्पताललाई प्रत्यारोपण सेवा सुरु गर्न अनुदान स्वरुप ९ करोड रुपैंया उपलब्ध गराएको छ ।
उक्त रकम उपकरण खरिद र पूर्वाधार निर्माणमा खर्च हुनेछ । प्रदेश सरकारले आगामी वर्ष २०८०÷८१ को बजेटमा पनि प्रत्यारोपण सेवा शिर्षकमा ४ करोड रुपैयाँ विनियोजन गरेको छ ।
हेटौंडा अस्पतालले विगत ३ वर्षदेखि डाइलाइसिस सेवा दिँदै आएको छ । महिनामा ५० जना सम्म मृगौलाका बिरामी डाइलाइसिसका लागि पालो कुर्नपर्ने बाध्यतात्मक अवस्थामा रहेको जानकारी दिइएको छ ।
डाइलाइसिस गर्न आउने बिरामीको तुलनामा थप १५ वटा डाइलाइसिस मेशिन थप्नुपर्ने आवश्यक रहेको मेसु सापकोटाले बताए ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.विश्वराज जोशीले हेटौडामा प्रत्यारोपण सेवा सुरु मात्र नभई निरन्तरता दिने गरी काम भइरहेको जानकारी दिए ।



