काठमाडौं, १० असार/सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेस बजेट पारित गरेर जानुपर्ने पक्षमा रहेको बताएका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेत लेखकले भने, ‘बजेटको परिमार्जनका बारेमा सदनको भूमिकालाई निर्धारण गर्ने, सुनिश्चित गर्ने गरेर हामी अघाडि बढ्नु पर्छ। यो बजेटलाई अहिले पारित गरेर जाने कुरामा नै नेपाली कांग्रेस संसदीय दल स्पष्ट छ। नेपाली कांग्रेस संसदीय दलका सबै माननीय सदस्यहरुले यो बजेटको पक्षमा मतदान गर्नु हुनेछ।’
उनले सत्तापक्ष र प्रतिपक्षका दलका नेताहरुलाई समेत आगामी दिनमा बजेटमा गम्भीरतापूर्वक छलफल गरेर सहमतिमा पुगेर अगाडि बढ्नेमा विश्वास दिलाए। उनले बजेटमाथि केही सैद्धान्तिक र केही आलोचनात्मक कुराहरु उठेकाले त्यसलाई सम्बोधन गर्ने दाबी गर्दै बजेटलाई समर्थन र सहमति जनाउन आग्रह गरे।



