सुर्खेत, २८ पुस/कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्मा (आर्ट) ले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका शर्मालाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन्।
को हुन शर्मा ?
१८ भदौ २०२८ मा रुकुमको चौरजहारी १४ नुवाकोटमा जन्मेका शर्मा विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । २०४१ सालमा आयोजित माओवादी निकट अनेरास्ववियूको क्षेत्रीय सम्मेलनमा सहभागी बनेका शर्मा त्यसपश्चात् राजतन्त्रविरुद्ध वकालत गर्दै समकालीन राजनीतिमा उदाएका थिए ।
शर्माले स्कुले जीवनकै क्रममा २०४३ मा सदरमुकाम पुगेर विद्यार्थीहरूलाई संगठित बनाई राजनीतिमा आफ्नो प्रभाव बढाएका हुन् । शर्माले २०४६ मा हालका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ महामन्त्री रहेको नेकपा (मसाल) को सांगठनिक सदस्यता लिएका थिए । उनी २०४७ सालदेखि पूर्णकालीन कार्यकर्ताको रूपमा राजनीतिमा होमिएका हुन् ।
२०५१ सालमा तत्कालीन नेकपा एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको तेस्रो विस्तारित बैठकले पार्टीको नाम परिवर्तन गरी नेकपा माओवादी बन्यो । त्यसको १ वर्षपछि २०५२ फागुन १ गते प्रचण्ड नेतृत्वमा सशस्त्रयुद्ध सुरु भएपछि शर्माको भूमिगत राजनीति सुरु भएको थियो ।
२०५० सालमा महतको फूलबारी जङ्गलमा ४५ दिने सशस्त्र तालिम गरेर ‘जनयुद्ध’का लागि फौजी आधार तयार गर्नमा शर्माले महत्त्वपूर्ण भूमिका खेलेका थिए । सशस्त्र युद्धको आधार तयार गर्न रूकुममा सञ्चालित ग्रामीण संघर्षका क्रममा भएका स्थानीय थुप्रै जनसंघर्षका कामको नेतृत्व लिँदै जनयुद्धपूर्व नै पूर्णकालीन राजनीतिमा होमिएका शर्माले २०५२ फागुन १ गते रूकुमको राडी प्रहरी चौकी कब्जाको नेतृत्व गरेका थिए ।
२०५४ मा साविक कर्णालीका जिल्लाहरूमा विभिन्न सैन्य कमाण्डको नेतृत्व सम्हालेका शर्मा २०५८ पछि मुगु, डोल्पा र २०६१ को शान्ति प्रक्रियापछि पनि दैलेखमा रहेर काम गरेका थिए । त्यतिबेला दैलेखमा माओवादीविरूद्ध प्रतिकार अभियान चलाइएको थियो ।
सशस्त्र युद्धको विस्तारका लागि शर्माले २०५४ सालदेखि साविक कर्णालीमा सरूवा भएर विभिन्न कमाण्डको नेतृत्व गरे । सो क्रममा उनले जुम्ला, कालिकोट, मुगु, डोल्पा, हुम्ला, दैलेखलगायका जिल्लामा विभिन्न समयमा जिल्ला सेक्रेटरी तथा जिल्ला ईन्चार्जका रूपमा नेतृत्वदायी भूमिका खेल्दै कर्णालीमा सशस्त्र युद्धका लागि आधार इलाका निर्माणमा महत्त्वपूर्ण भूमिका शर्माले खेलेका छन् ।
तत्कालीन विद्रोही पक्ष र राज्य पक्षबीच विस्तृत शान्ति पक्रियामा हस्ताक्षर हुँदा शर्मा थरुहट राज्य दाङ, बाँके, बर्दिया र कैलाली, कन्चनपुरको प्रमुख थिए । २०६७ सालपछि नेवाः राज्यमा रहेर काम गरेका उनी केन्द्रीय प्रचार विभाग, पार्टीको जिल्ला कमिटी इन्चार्ज, प्रदेशको संस्थापन अध्यक्ष, २०७४ मा जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख हुँदै कर्णालीको तेस्रो मुख्यमन्त्रीको बनेका हुन् । शर्माले कक्षा १० सम्मको औपचारिक शिक्षा पूरा गरेका छन् । उनी पार्टीमा आर्ट नामले परिचित छन् ।



