दोलखा, १७ मंसिर/दोलखामा भरूवा बन्दुक पड्किँदा एक युवकको मृत्यु भएको छ।
दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर २ झुलेस्थित जंगलमा २२ वर्षीय सञ्जिव सार्कीको शनिबार मृत्यु भएको हो ।
भरूवा बन्दुक लिएर सार्कीसहित सात जना गएराति घरनजिकै जंगलमा सिकार खेल्न गएका थिए। सार्कीले भरूवा बन्दुक पड्काउँदा आफैंलाई लागेको प्रहरीको भनाइ छ ।
प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। उनीहरूको नाम प्रहरीले खुलाएको छैन।
घटनास्थलमा प्रहरी पुगेर मुचुल्का गरी शव पोस्टमर्टमका लागि अस्पतालमा पठाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।