अर्थतन्त्र लयमा फर्किँदैछ, सूचकांकहरू सकारात्मक दिशातर्फ उन्मुख: प्रधानमन्त्री प्रचण्ड

0
468

काठमाडौं, १२ भदौ/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले चालेका सुधारात्मक कदमबाट अर्थतन्त्र विस्तारै लयमा फर्किन थालेको बताएका छन् । मंगलवार प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रका सूचकाङ्कहरू सकारात्मक दिशातर्फ उन्मुख भएको बताए ।

अर्थतन्त्रको पुनरुत्थान तथा दिगो समावेशी आर्थिक वृद्धि हासिल गर्ने र लगानीको वातावरणमा सुधार गर्न सरकार क्रियाशील रहेको बताए । ‘सरकारले चालेका सुधारात्मक कदमबाट अर्थतन्त्र विस्तारै लयमा फर्किन शुरू गरेको छ ।

नेपाल राष्ट्र बैङ्कले हालै प्रकाशन गरेको प्रतिवेदनअनुसार अर्थतन्त्रका सूचकाङ्कहरू सकारात्मक दिशातर्फ उन्मुख छन्,’ उनले भने, ‘२०८० असार मसान्तसम्म शोधान्तर स्थिति २९० अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको छ । विदेशी विनिमय सञ्‍चिति गत वर्षको सोही अवधिको तुलनामा २६.६ प्रतिशतले वृद्धि भई १५३९ अर्ब ३६ करोड रुपैयाँ पुगेको र यसले करिब १० महिनाको वस्तु तथा सेवाको आयात धान्‍न पुग्ने अवस्था रहेको छ। विप्रेषण आयमा २१.२ प्रतिशतले वृद्धि भई १२२० अर्ब ५६ करोड पुगेको छ।’

उनले जग्गाको कित्ताकाट पूर्ण रूपमा खुलाउने निर्णय भएको र नेपाल राष्ट्रबैंकले लचिलो बजार नीति अनुसार चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन सम्बोधन गरेको स्मरण गरे । 

बैंकहरूले उद्योग, व्यवसाय वा कम्पनीहरूको सञ्चालन चक्रलगायत आधारमा अधिकतम वार्षिक कारोबारको ५० प्रतिशतसम्म चालु पुँजी कर्जा दिन सक्ने व्यवस्था गरिएको बताए । यसबाट उद्योग, व्यवसाय क्षेत्रलाई प्रत्यक्ष लाभ हुनुका साथै आन्तरिक लगानी, उत्पादन वृद्वि र बजारमा आर्थिक गतिविधि बढ्न सहयोग पुग्ने विश्‍वास व्यक्त गरे । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here