ताप्लेजुङ, ६ असार/ताप्लेजुङमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।
सिरिजङ्गा गाउँपालिका-३ का ३८ वर्षीय लक्ष्मण चाम्लिङ राईले ३१ वर्षीय श्रीमती निशा राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजन लिम्बुले जानकारी दिए।
लक्ष्मणले मंगलबार राति मापसे गरी श्रीमती निशासँग झगडा गरेका थिए। त्यसक्रममा लक्ष्मणले चिर्पटले उनको टाउकोमा हिर्काएको डिएसपी लिम्बुले बताए। निशाको टाउकोबाट धेरै रक्तश्राव भएकाले मृत्यु भएको हो।
‘मृत्यु हिजै भइसकेको रहेछ। बुधबार बिहान खबर पाएका थियौं,ʼ उनले भने, ‘बाढी पहिरोले सडक अवरूद्ध भएकाले अस्पताल लगेनन्।ʼ
घटनाबारे खबर पाएपछि बुधबार बिहान प्रहरीले लक्ष्मणलाई पक्राउ गरेको हो। थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।



