अर्काे चुनावमा कांग्रेसले कसैसँग तालमेल गर्दैनः गगन थापा

0
792

हेटाैंडा, २९ जेठ/नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा कांग्रसले कुनैपनि पार्टी वा शक्तिसँग तालमेल नगर्ने नीति लिने स्पष्ट पारेका छन् । नेपाली कांग्रेस विचार प्रधान पार्टी भएकाले सत्ताका लागि कसैसँग सम्झाैता नगर्ने उनले बताए ।

नेपाली कांग्रेस क्षेत्र नम्बर २ र २ ‘ख’ काे साेमबार हेटाैंडा-१९ बस्तीपुरमा भएकाे भेलालाई सम्बाेधन गर्दै महामन्त्री थापाले भने-‘चुनावकाे अगाडि अर्काे पार्टीकाे पक्षमा मत माग्ने कुराले प्रकारान्तरमा त्यसले पार्टीप्रतिकाे विश्वास डगमगाउने अवस्था बन्दाे रहेछ।’ उनले अगाडि थपे ‘त्यसैले कांग्रेसले भदाैमा कांग्रेसले नीति अधिवेशन गर्छ, नीति अधिवेशनबाट संकल्प गर्नुपर्छ कि, अब कांग्रेसकाे जिवनमा बरु ५ पटक चुनाव हारे हारिन्छ, वडादेखि केन्द्रसम्म, राष्ट्रपतिदेखि प्रधानमन्त्रीकाे चुनावमा जस्ताेसुकै अपठेराे परे पनि, नेपालकाे तमाम् पार्टी मिलेर एउटै पार्टी बनाए पनि कांग्रेसले तालमेल गर्दैन ।’

तालमेल मात्र नभई कांग्रेसले सत्ताका लागि विचारसँग सम्झाैता नगर्ने उनले स्पष्ट पारे । बरु सरकार छाेड्नुपरे छाेड्ने तर, कांग्रेसकाे लागि विचार र सिद्धान्त सबैभन्दा महत्वपूर्ण कुरा भएकाे भन्दै त्यसलाई स्थापित गरिनुपर्नेमा थापाकाे जाेड थियाे ।

चुनावअघि नै गठबन्धन गर्दा पार्टीप्रति गलत धारणा बनेकाे भन्दै उनले बरु कांग्रेस चुनाव हार्न र सत्ता बाहिरै बस्न तयार रहने स्पष्ट पारे ।

‘हाम्राे इमेज कस्ताे बन्याे कि सरकारमा पुग्नका लागि चुनावअघि एउटासँग घाँटी जाेड्न पनि पुग्छ, त्याे सरकारमा पुगेन भन्ने रिसमा चुनावपछि अर्काेसँग घाँटी जाेड्न पनि पुग्छ । सत्ताका लागि जस्ताेसुकै सम्झाैता गर्छ भन्ने छवि बन्न पुग्याे, गल्ती जहाँबाट भएकाे छ, त्यहिँबाट सच्याउनुपर्छ ।’ थापाले भने ।

आम नागरिकमा राजनीतिप्रति वितृष्णा जागेकाे र आत्मविश्वास र आशा गुमाइरहेकाे भन्दै कांग्रेसले जनताकाे निराशालाई चिर्ने थापाले प्रतिवद्धता जनाए । ‘हामी निराश हुनुहुँदैन, कांग्रेस आफू जित्न आएकाे पार्टी हाेइन, कांग्रेस देशलाई जिताउन आएकाे पार्टी हाे,’ थापाले भने ।

नेपाली कांग्रेस प्रगतिशील समाजकाे कल्पना गरी कार्यान्वयन गराउने पार्टी भएकाे भन्दै थापाले जनभावनालाई निरन्तर सुन्ने प्रतिवद्धता जनाए । ‘कांग्रेस उत्तेजित शक्ति पनि हाेइन, कांग्रेस यथास्थितिवादि पनि हाेइन । कांग्रेस त प्रगतिशिल शक्ति हाे, कांग्रेस प्रश्न हाेइन, उत्तर हाे ।’ थापाले थपे ।

चुनावकाे बेला उम्मेद्वार छान्ने कुरा सबैभन्दा जटिल बनेकाे भन्दै थापाले वडाकाे टिकट चुनावकाे ६ महिनाअघि त्यसै वडा तथा पालिका वा क्षेत्रका कार्यकर्ताले सर्वसम्मत वा निर्वाचनमार्फत छान्ने गरी नीति बनाउनुपर्ने धारणा राखे ।

कांग्रेस सक्किएर हाेइन सच्चिएर र परिवर्तन भएर अघि बढ्नुपर्ने भन्दै उनले भने -‘कमजाेर कांग्रेसकाे महामन्त्री हुनुभन्दा बलियाे कांग्रेसकाे साधारण सदस्य मञ्जुर छ तर, कांग्रेस सच्चिएर जान जरुरी छ ।

कार्यक्रममा बाेल्दै नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले कांग्रेस एकजुट भएर जनताकाे हितमा लाग्नुकाे विकल्प नभएकाे बताए ।

नागरिकमा छाएकाे निराशा चिर्न काम गरेर देखाउनुपर्ने बताउँदै नेता बानियाँले क्रियाशिलबाटै जनप्रतिनिधिको उम्मेदवार छान्ने पद्धति चलाउनपर्ने बताएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, पूर्व सभापतिद्वय माइकल रामचन्द्र अर्याल र रघुरमण न्याैपाने, पार्टी जिल्ला उपसभापति आनन्द कठायत, सचिव ईश्वर पाठक, सहसचिव इन्दिरा न्याैपाने प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सभापति दामाेदर खनाल, चितवन क्षेत्र नम्बर १ का सभापति किरण वली, महासमिति सदस्यद्वय राजकुमार मल्ल र राजेश भेटवाल, मकवानपुर १ (क) का सभापति सुशान्त श्रेष्ठ, मकवानपुर २(ख) का सभापति रन्जन कालाखेती, थाहा नगर सभापति प्रमाेद जाेशी, मनहरी ८ का सभापति भिमसेन लामालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

मकवानपुर क्षेत्र नम्बर २ का सभापति लाेक मुक्तानकाे सभाध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गगन थापाको प्रमुख आथित्यता र बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको विशिष्ट आतिथ्यतामा सम्मेलन भएकाे हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here