काठमाडौँ, २५ जेठ/केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं उपत्यका लगायत देशका अन्य भागमा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको हुँदा सावधानी अपनाउन अनुरोध गरेको छ। विभागका अनुसार मध्य तराई क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा बढी मापन भएको छ।
अझै केही दिन तापपक्रम बढ्ने विभागका मौसमविद् सञ्जीव अधिकारीले बताए। “आगामी केही दिनसम्म तराईका धेरैजसो भूभागमा अधिकतम र न्यूनतम तापक्रम विस्तारै बढ्दै जाने देखिएको छ,” मौसमविद् अधिकारीले भने, “मनसुनको आगमनको लागि अझ केही दिन लाग्ने देखिएकाले गर्मी एक–दुई दिन अझै बढ्ने अनुमान छ।”
तापमान वृद्धि भइरहँदा तराईमा अझै चार दिन तातो हावा तथा लू (हिट वेभ) चल्ने सम्भावना देखिएको विभागले जनाएको छ। तराई बाहेक पहाडी उपत्यका तथा खोंचका भूभागमा पनि तापक्रम बढ्ने भएकाले सचेतना अपनाउन विभागको आग्रह छ।
तातो हावा तथा लूबाट हुने सम्भावित असरहरूमा थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, रिंगटा लाग्ने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुने लगायतका लक्षण देखिने हुँदा यसबाट बच्न रोकथामका उपाय अपनाउन पनि विभागले सचेत गराएको छ। यसका लागि घर भित्रै बस्न, अनावश्यक रुपमा बाहिर नजान, घाममा नबस्न, हल्का लुगा लगाउन, बाहिर निस्किँदा टाउको छोप्न, टोपी लगाउन, समय समयमा पानी वा सर्बत प्रशस्त खानुपर्छ।
तराईमा तापक्रम वृद्धिको क्रम जारी रहेकाले सतर्क रहनुपर्ने देखिएको मौसमविद् अधिकारीको भनाइ छ। “कतिपय वर्षमा जुन ८ सम्म मनसुनी वर्षात आएको पनि देखिन्छ, तर यस वर्ष कम्तीमा पनि आउँदो आइतबारसम्म वर्षातको सम्भावना छैन,” उनले भने, “नेपालको पश्चिम र पूर्वी तराईमा केही राहात जस्तो देखिए पनि मध्य तराईमा भने तापक्रम वृद्धिको क्रममै रहेको हुँदा सावधानीको उपाय अपनाउनु पर्ने देखिन्छ।”
बुधबारको तापक्रम हेर्दा नवलपरासीको दुम्कौली स्टेसनमा सबैभन्दा बढी ४३ डिग्री सेल्सियस पुगेको थियो भने भैरहवा र जनकपुरमा ४२ डिग्री सेल्सियस पुगेको विभागको तथ्यांक छ। “मध्य तराईका विभिन्न क्षेत्रमा उच्चतम बिन्दुमा एक–दुई डिग्रीको फरक देखिए पनि औसतमा तापक्रम ४० डिग्रीको हाराहारीमा रहेको देखिन्छ,” अधिकारीले भने।



