भूसाल एकीकृत समाजवादीको सचिवालय सदस्यमा मनोनीत

0
586

काठमाडौँ,३० पुस/नेकपा एकीकृत समाजवादी पार्टीले नेता घनश्याम भूसाललाई सचिवालय सदस्यमा मनोनीत गरेको छ । शनिबार बिहान बसेको सचिवालय बैठकले भूसाललाई सचिवालय सदस्यमा मनोनीत गरेको सचिवालय सदस्य प्रकाश ज्वालाले बताए ।

यसअघि नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालयमा अध्यक्ष माधवकुमार नेपालसहित ११ जना सदस्य थिए । अब भूसाललाई पनि सदस्यमा मनोनीत गरेपछि सचिवालय १२ सदस्यीय बनेको छ । सचिवालयमा ‘सम्मानित नेता’ झलनाथ खनालसहित मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, प्रमेश हमाल, जयन्ती राई, वेदुराम भुसाल, प्रकाश ज्वाला, गंगालाल तुलाधर, विजय पौडेल र जगन्नाथ खतिवडा रहेका छन् ।

एक कार्यक्रमबीच शुक्रबार भूसाल पार्टी प्रवेश गरेका थिए । गत निर्वाचनमा उम्मेदवारी बन्न नपाएपछि नेकपा एमाले परित्याग गरेर स्वत्नत्र उम्मेदवारी दिएका भुसाल प्रतिनिसभा सदस्यमा पराजित भएका थिए । यसअघि भूसालले पुस २४ गते नेकपा एकीकृत समाजवादी पार्टीको वाम एकता वार्ता समितिलाई पत्र लेख्दै कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रूपान्तरण र एकीकरणका लागि प्रस्ताव गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता भुसालले अबको कम्युनिस्ट आन्दोलनको लिगेसी नेकपा एकीकृत समाजवादीसँग रहेको दाबी गरेका छन् । तत्कालीन नेकपा विभाजन भएपछि नेकपा एसले नै अबको कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने उनको दाबी थियो ।

यसअघि उनले कम्युनिस्ट पार्टीहरूको एकीकरणका लागि एकीकृत समाजवादी पार्टीको कार्यदिशा ठीक भएको बताएका थिए । उनले भनेका थिए, ‘नेकपा विभाजित भएर अहिले एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बनेका छन्। अर्थात् हामी माथिल्लो आधार शिविरबाट तल झरेका छौँ । हामी फेरि त्यही आधार शिविरमा नफर्की सुखै छैन । अर्थात् नेकपाकै विन्दुमा फर्किनु पर्ने भएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here