हेटौंडा । हेटौंडा–९ स्थित हेटौंडा सिमेन्ट उद्योग लिमिटेडका कर्मचारीले विगत १० महिनादेखि तलब नपाएको गुनासो गरेका छन्। बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुरको टोलीले उद्योगको अनुगमन गर्ने क्रममा कर्मचारीहरूले यस्तो गम्भीर समस्या उजागर गरेका हुन्।
अनुगमनमा प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, हेटौंडा उपमहानगरपालिकाका प्रशासकीय प्रमुख भरत गौतम तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख श्यामबहादुर खत्री सहभागी थिए। कर्मचारीहरूले लामो समयदेखि बिना तलब काम गरिरहनुपरेको र उद्योग जोगाउने उद्देश्यले ‘भोको पेट’ समेत काम जारी राखेको बताएका छन्।
उद्योगका सहायक प्रबन्धक भक्तराम श्रेष्ठका अनुसार हाल उद्योगमा १ सय ३६ जना कर्मचारी कार्यरत छन् भने करिब २ सय ५३ कर्मचारीले असार महिनादेखि तलब पाउन सकेका छैनन्। उनले आफू ३५ वर्षदेखि उद्योगमा कार्यरत रहेको उल्लेख गर्दै लामो समयको सेवापछि पनि तलब नपाउनु दुःखद भएको बताए।
उद्योगमा उत्पादित सिमेन्ट बिक्री भएर पनि कतिपय स्थानबाट रकम उठ्न बाँकी रहेको र हाल पुराना सिमेन्टको प्याकिङ कार्य भइरहेको जनाइएको छ।
अनुगमनपछि प्रमुख जिल्ला अधिकारी भण्डारीले कर्मचारीलाई कामप्रति प्रतिबद्ध रहन आग्रह गरे। उनले उद्योगमा अब कडा निगरानी राखिने र नियमित सञ्चालनमा ल्याउन सबै पक्ष जिम्मेवार हुनुपर्ने उल्लेख गरे।
यसैबीच उद्योग परिसरमा झाडी बढेका कारण चितुवाको आतंकसमेत देखिएको छ। सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आगामी शनिबार उद्योग क्षेत्र सरसफाइ गर्ने कार्यक्रम तय गरिएको छ। सरसफाइ अभियानमा उद्योगका कर्मचारी, प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह र जिल्ला प्रशासनको संयुक्त सहभागिता रहने जनाइएको छ।
उद्योगको वर्तमान अवस्था, कर्मचारीको आर्थिक संकट र व्यवस्थापन पक्षको चुनौतीले हेटौंडा सिमेन्ट उद्योग पुनः सञ्चालन र स्थायित्वप्रति भने प्रश्न उठेको छ।



