उद्धार, राहत र सडक खुलाउन बागमतीको ‘युनिफाइड कमाण्ड टिम’ एकीकृत प्रयासमा

0
115

काठमाडौं, २१ असोज/विपद् व्यवस्थापनका लागि असोज १८ गते दिउँसो बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको निर्देशनमा गठन गरिएको एकीकृत संयन्त्र ‘युनिफाइड कमाण्ड टिम’ले उद्धार, राहत र सडक खुलाउने काममा सक्रियता बढाएको छ ।

स्थानीय तह र प्रशासनहरूसँग समन्वय गरी विपद् उद्धार र राहत तथा व्यवस्थापकीय काम गर्नेगरी विधागत रूपमा ५ मन्त्रीलाई जिम्मेवारी तोकिएको थियो ।

टिमको नेतृत्व आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारीले गरेका छन् भने सदस्यहरूमा भौतिक पूर्वाधार विकासमन्त्री दिनेशचन्द्र देवकोटा, आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङ, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङ र वन तथा वातावरणमन्त्री भरतबहादु केसी छन् ।

संयोजक मन्त्री अधिकारीका अनुसार सो समितिको जिम्मेवारी अनुसार विपद् व्यवस्थापनका लागि एउटा मात्र बैठक बसेको र सो बैठकले आवश्यक सामग्री र स्रोत उपलब्ध गराउने निर्णय गरेको थियो । विपद्को समयमा छरिएर काम गर्नुभन्दा एकै ठाउँबाट समन्वयात्मक निर्णय लिनु प्रभावकारी हुने निष्कर्षसहित गठन भएको समितिले प्रभावकारी काम गरेको उनको दाबी छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको समन्वयका आधारमा उद्धारका लागि सुरक्षाकर्मी परिचालन, राहत सामग्री ढुवानी र अवरुद्ध सडकमा उपकरण पठाउने काम एकैसाथ सम्भव भएको मन्त्री अधिकारीले बताए ।

क्षतिको पूर्ण विवरण सङ्कलन हुँदै

मन्त्री अधिकारीका अनुसार समयमै पूर्व तयारीमा जुट्दा १८ र १९ गतेको वर्षाका कारण बागमती प्रदेशमा ठुलो क्षति हुन पाएन । हाल प्रदेशभित्र भएका क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको र त्यसका आधारमा थप रणनीति बनाइने उनले बताए ।

‘हामी अहिले सबै जिल्ला र स्थानीय तहबाट रिपोर्ट लिइरहेका छौँ । पूर्ण रिपोर्ट प्राप्त भएपछि कहाँ–कहाँ के–कस्तो सहयोग आवश्यक छ भन्ने पहिचान गरी मन्त्रिपरिषद्को बैठकबाट आवश्यक निर्णय लिन्छौँ,’ उनले भने, ‘सम्भावित घटनालाई ध्यानमा राखेर हामीले राहतका लागि आवश्यक पाल लगायतका सामग्री सबै सुरक्षा निकाय र स्थानीय तहसम्म पहिले नै पठाइसकेका थियौँ ।’

घटनालगत्तै तत्काल परिचालन हुन सकियोस् भनेर नेपाल प्रहरी, सेना र स्थानीय निकायलाई तयारी अवस्थामा राखिएको र संघीय सरकारको निर्देशन पनि कडाइका साथ पालना गर्न लगाइएको मन्त्री अधिकारीले बताए ।

कुलेखानी सडक ‘लाइफलाइन’का रूपमा सञ्चालनमा

विपदपछिको सबैभन्दा ठुलो चुनौती भनेकै अवरुद्ध सडक सञ्जाल खुलाउनु थियो । भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठा क्षतिको तथ्याङ्क सङ्कलनभन्दा पनि फिल्डमा खटिएर काम गर्नु महत्त्वपूर्ण रहेको बताउँछन् ।

मन्त्रालयले प्रदेशका १३ जिल्लाकै पूर्वाधार विकास कार्यालयका टिमलाई पूर्ण रूपमा परिचालन गरेको उनले बताए । उनका अनुसार, हाल प्रदेशभरि ४० वटाभन्दा बढी उपकरण सडक खुलाउन प्रयोग भइरहेका छन् । मुख्य राजमार्ग र ठुला सडकमा यातायात सुचारु भइसकेको र अब स्थानीय तहको केन्द्र जोड्ने सहायक सडक खुलाउन ध्यान केन्द्रित गरिएको उनले बताए ।

भौतिक पूर्वाधार विकासमन्त्री दिनेशचन्द्र देवकोटाले काठमाडौँ–हेटौँडा जोड्ने वैकल्पिक मार्ग सिस्नेरी र फाखेल सञ्चालनमा ल्याइएको बताए । ‘यी दुई मार्ग अहिले राष्ट्रिय जीवनरेखा (लाइफलाइन) बनेका छन् । पूर्व र पश्चिमबाट आउने सवारीसाधनहरू समेत यही बाटो भएर आवतजावत गरिरहेका छन्,’ उनले भने ।

मातातीर्थतर्फको अवरुद्ध सडक पनि खुल्ने क्रममा रहेको मन्त्री देवकोटाको भनाइ छ । ललितपुरको गोदावरी क्षेत्र र धादिङको रुबी भ्याली जाने बाटोमा पहिरोले बढी क्षति पु¥याएको जनाउँदै उनले बाढी–पहिरोका कारण अवरुद्ध रसुवा, सिन्धुपाल्चोक र दोलखाका केही ग्रामीण सडक व्यवस्थापनमा काम भइरहेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here