सहीद स्मृति मकवानपुर गोल्डकप आजबाट

0
661

हेटौंडा, २८ माघ/मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुने पाँचौ संस्करणको स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता आज दिउँसो ३ बजेबाट सञ्चालन हुँदैछ । 


हेटौंडाको पिप्ले–क्याम्पा रंगशालामा हुने उद्घाटन खेल आयोजक टिम मकवानपुर ११ र नव जनजागृति क्लव सिमराको बीचमा हुनेछ । प्रतियोगितामा एउटा विदेशी, ७ वटा ए डिभिजन र ४ वटा मोफसलका गरी १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 


प्रतियोगितामा मकवानपुर र सिमरासहित त्रिभुवन आर्मी फुटबल क्लव, नेपाल एपिएफ क्लव, सातदोबाटो क्लव, मनाङ मस्र्याङ्दी क्लव, फ्रेण्ड्स क्लव, हिमालयन् शेर्पा क्लव, एनआरटी क्लव, बागमती युवा क्लव सर्लाही, बीरगञ्ज युनाइटेड र एभिनियर एफसी क्यामरुनको सहभगिता रहेको छ । 


प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल पाउनेछन् भने विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । मकवानपुर गोल्डकपको अघिल्लो संस्करण त्रिभुवन आर्मी फुटबल क्लवले जितेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here