पोखरा विमान दुर्घटना: छानबिन गर्न पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय जाँचबुझ आयोग गठन, भोलि शोक विदा

0
629

काठमाडौं, १ माघ/आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले छानबिन समिति गठन गरेको हो । पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठन गरिएको र प्रतिवेदन पेश गर्न ४५ दिनको समय दिइएको सरकारका प्रवक्ता अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए। त्यस्तै बैठकले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा शोक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता पौडेलले बताए।

‘मन्त्रिपरिषद बैठकले घटनाप्रति गहिरो दु:ख व्यक्त गरेको छ। भोलि माघ २ गते शोकपूर्ण घटनाका सन्दर्भमा शोक मनाउने र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ,’ उनले भने।

घटनाकाबारे परिवारजनलगायतलाई जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय भएको छ।

काठमाडौंबाट पोखराका लागि आज उडेको यती एयरको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको थियो।  पोखराका लागि उडेको उक्त विमानमा चालक दलका ४ सहित ६८ यात्रु सवार थिए। हालसम्म ४० जनाको मृत्यु भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here