हेटौंडा, ३० असोज/बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले आफुले पाउने सेवा सुबिधाबाट निर्माण गरिदिएको घर मनहरी गाउँपालिका–९ ज्यामिरे निवासी मिठुमायाँ सुनारलाई हस्तान्तरण गर्दैछन् ।
मुख्यमन्त्री बानियाँको व्यक्तिगत पहलमा निर्माण गरिएको घर हस्तान्तरणसँगै मिठुमायाँ अब आफ्नै घरमाबास बस्न लागेकी हुन् ।
नेपालीहरुको महान पर्व तिहारको अवसरमा कार्तिक २ गते आईतबार बिहान मिठुमायाँलाई घर हस्तान्तरण गरिने मुख्यमन्त्री बानियाँको सचिवालयले जानकारी दिएको छ ।
मुख्यमन्त्री बानियाँले आफ्नो निर्वाचन क्षेत्रको राक्सीराङ्ग गाउँपालिका १ इन्द्रुङ्गका सुमनसिं चेपाङको अर्को घरसमेत द्रुतगतिमा निर्माण भईरहेको र कात्तिक महिनाभित्र सम्पन्न गरी हस्तान्तरण गरिने मुख्यमन्त्री बानियाँको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री बानियाँले यसअघि पनि मकवानपुरको बकैया गाउँपालिका–५, गरगरेमा आगलागीबाट घर गुमाएकापीडितलाई १ लाख रुपैयाँ व्यक्तिगत सहयोग गरेका थिए।
बानियाँ नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्रीले आफूले पाउने तलब भत्ता विपन्न परिवारको घरनिर्माणमा खर्चिने घोषणा गरेका थिए।
त्यसैगरी, उक्त बैठकले प्रदेशभरका आर्थिक रुपमा पछाडि परेका जेहेन्दार विद्यार्थीलाई मेडिकल शिक्षाअध्ययनका लागि पूर्ण छात्रवृत्ति दिने निर्णयसमेत गरेको छ।
साथै, मन्त्रिपरिषदले चेपाङ, दलित, बोटे, जिरेल, हायु, वनकरियालगायत अति विपन्न र सिमान्तकृत समुदायकालागि गाँस, बास र कपासको सुनिश्चितता गर्न उच्च प्राथमिकताका साथ नीतिगत व्यवस्था गरिने निर्णयसमेतगरेको छ।
मुख्यमन्त्री बानियाँको यो पहलले नेतृत्वले देखाएको मानवता र सेवा भाव झल्काउँछ, जुन आगामी दिनमा अन्यनेताका लागि पनि प्रेरणा बन्न सक्छ।



