हेटौंडा, २३ चैत/ नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिद्वारा विद्यालय शिक्षा ऐन जारी माग गर्दै केही दिनदेखि काठमाडौं केन्द्रित अनिश्चितकालीन आन्दोलन गरिरहेको अवस्थामा शिक्षक तथा विद्यालय कर्मचारीका यथोचित माग समाधान गरी गुणस्तरीय विद्यालय शिक्षाको प्रवन्ध गर्नसक्ने ऐन जारी गर्न ढिलाइ गर्न नहुने नेपाली कांग्रेस बागमती प्रदेश कमिटीले जनाएको छ ।
शिक्षकहरु आन्दोलनमा उत्रिरहेको बेला शनिबार पार्टी प्रदेश सभापति इन्द्रबहादुर बानियाँले विज्ञप्तिमार्फत नेपाल शिक्षक महासंघले उठाएका शिक्षा क्षेत्रका विभिन्न मागहरुका साथै विगतमा नेपाल सरकारसँग भएका विभिन्न सम्झौता कार्यान्वयनका लागि गरिएका आन्दोलन, विगतमा गरिएका सम्झौता कार्यान्वयन र महासंघले उठाएका जायज मागहरुलाई वार्ता तथा सम्वादबाट समाधानका लागि नेपाल सरकारसँग माग गर्नुभएको हो ।
‘नेपाल शिक्षक महासंघले जारी राखेको आन्दोलनप्रति नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति पूर्णऐक्यवद्धता जनाउँदै शिक्षक तथा विद्यालय कर्मचारीहरुसँग विगतमा भएका सहमति कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह गर्दछौं,’ उहाँले शिक्षा क्षेत्रको उन्नति लोकतन्त्रको आधार भएकाले यसप्रति नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति प्रतिबद्ध रहँदै नेपाल सरकारलाई शिक्षक महासंघले उठाएका जायज मागहरुलाई वार्तामार्फत तत्काल समाधान दिन हार्दिक अपिल गर्नुभएको छ ।
शिक्षा ऐन माग राखेर आन्दोलनमा रहेका शिक्षकहरुले शनिबार सडकमा सुतेर विरोध प्रदर्शन गरेका छन् । काठमाडौं केन्द्रित आन्दोलनको तेस्रो दिन शिक्षकहरुले सडकमा सुतेर प्रदर्शन गरेका हुन् ।
नेपाल शिक्षक महासंघको नेतृत्वको देशभरका शिक्षक आन्दोलित छन् । सरकारले पटकपटक वार्तामा बोलाए पनि शिक्षा ऐन जारी नहुँदासम्म वार्ताको कुनै औचित्य नहुने भन्दै सरकारको आग्रहलाई उनीहरु अस्वीकार गर्दै आएका छन् ।
आन्दोलनका लागि देशभरका शिक्षकहरु काठमाडौं केन्द्रित भएर उत्रिएका हुन् । उनीहरुले शिक्षा ऐन जसरी भए पनि जारी गर्नु पर्ने भन्दै दबाबमूलक कार्यक्रम गर्दै शनिबार आधा घण्टा सडकमै सुतेर विरोध प्रदर्शन गरेका थिए ।