हेटौंडा, १४ माघ/बागमती प्रदेश सरकारले प्रदेशमा निजी वनका साल प्रजातिको रुख सदुपयोग गर्न पाउने कार्यविधिलाई अन्तिप रूप दिएसँगै ४० वर्षपछि सालको रुख कटानको बाटो खुल्ने भएको छ । २०४२ सालबाट निजी वनको सालको रुख कटान बन्द गरिएको थियो ।
बागमती प्रदेशको वन तथा वतावरण मन्त्रालयले निजी वनमा रहेका साल प्रजातिको रुख कटान कार्य सुरू गर्न अनुगमन कार्यविधि तयार पारेको छ ।
वन निर्देशनालयले हेटौंडामा आयोजना गरेको २ दिने दोस्रो त्रैमासिक समीक्षा गोष्ठी कार्यक्रममा मन्त्रालयका सचिव डा. केदार बरालले निजी वनको साल प्रजातिको रुख कटान, उपभोग, ओसारपसार, बिक्री वितरण तथा अनुगमनसम्बन्धी कार्यविधि, स्वीकृतिका लागि प्रदेश सरकार मन्त्रिपरिषदमा पठाउने तयारी अन्तिम चरणमा पुगेको बताए ।
उनले भने, ‘मन्त्रालयले अहिले निजी वनको साल प्रजातिको रुख कटान,उपभोग, ओसारपसार, बिक्री वितरण तथा अनुगमनसम्बन्धी कार्यविधि, २०८१ मस्यौदा तयार गरिसकेको छ ।’
मन्त्रिपरिषद्बाट स्वीकृतपछि लागू हुने यो कार्यविधिबमोजिम दर्ता भएका निजी वनका धनीहरूले आफ्नो वनमा लगाएका वा हुर्काएका सालका रुख स्वीकृत लिई कटान र उपयोग गर्न सक्नेछन् ।
संघीय सरकारको २०८० साल मंसिर ७ गते नेपाल राजपत्र भाग ५ मा प्रकाशन गरेको सूचना १ को ५ (ग) मा दर्ता भएका निजी वनमा लगाइएका वा हुर्काइएका साल प्रजातिको रुख कटान, उपभोग ओसारपसार र बिक्री वितरण गर्न पाउने र यसको प्रदेश सरकारले आवश्यक अनुगमन गर्नुपर्ने व्यवस्था गरेकोले प्रदेश सरकारले निजी वनको साल कटान तथा उपयोग कार्यको अनुगमन गर्नका लागि यो कार्यविधि तयार गरेको हो ।
कार्यक्रममा बागमती वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले कार्यविधिले कुनै व्यक्तिले गैर कानूनी ढंगबाट अन्य निजी वन धनीको जग्गामा रहेको रुख चोरी कटानी तथा निकासी गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारवाही हुने उल्लेख गरिएको बताए । यस्तै त्यसको अनुगमन तथा प्रतिवेदन सम्बन्धी व्यवस्थामा डिभिजन वन कार्यालय, स्थानीय तह, वन निर्देशनालय र मन्त्रालयले अनुगमन गर्ने बताए ।
कार्यक्रममा मन्त्रालय मातहतका निर्देशनालय, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र र १५ वटै डिभिजन वन कार्यालयका प्रमुखहरूले कार्यविधि स्वीकृत भएपश्चात तुरुन्तै लागू गर्ने प्रतिवद्धता जनाएका थिए ।