पाथीभरा क्षेत्र झडपमा सुरक्षाकर्मी र आन्दोलनकारी गरी १८ जना घाइते, तीनको अवस्था ‘गम्भीर’

0
83

ताप्लेजुङ, १३ माघ/ताप्लेजुङको पाथीभरा क्षेत्रमा शनिबार सुरक्षाकर्मी र केबलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा कम्तीमा १८ जना घाइते भएका छन् ।

झडपमा परी १३ जना प्रहरी र पाँच आन्दोलनकारी घाइते भएको जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङले जनाएको छ ।

झडपमा यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा र मङ्गल लावती घाइते भएका छन् । एक आन्दोलनकारीको भने परिचय खुलाइएको छैन । लिम्बू, सगुन र पालुङ्वा गरी तीनजना आन्दोलनकारीको अवस्था गम्भीर रहेको बताइएको छ । गभ्भीर घाइते भएकालाई उपचारका लागि विराटनगर लगिएको छ ।

प्रहरीतर्फ भने प्रहरी निरीक्षक (इन्सपेक्टर)देखि जवानसम्म घाइते भएको जनाइएको छ । काफ्लेपाटीभन्दा माथि रहेको बलुडाँडामा शनिबार साँझ झडप भएको थियो ।

आन्दोलनकारीले प्रहरीलाई ढुङ्गा हानेपछि स्थिति तनाबपूर्ण बनेको थियो । प्रहरीले आन्दोलनकारीबाट तीन खुकुरी, गुलेली र अन्य सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ सेल अश्रुग्याससमेत प्रहार गरेको थियो । स्थिति नियन्त्रणबाहिर गएपछि गोली चलाउनु परेकाे प्रहरीले जनाएकाे छ ।  तीनजना आन्दोलनकारीलाई गोली लागेको बताइएको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश महर्जनका अनुसार आन्दोलनकारीसँग लुकाइएको हतार रहेको सूचना पाएपछि खोजतलास गर्ने क्रममा विभिन्न सामान बरामद गरिएको हो ।

हिमालयन कन्सट्रक्सनले १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी केबलकार निर्माण योजना अघि बढाएको हो । गत मङ्गलबारदेखि जमिन सम्याउने काम सुरु भएको हो । आइतबार अवस्था सामान्य रहेको प्रशासन कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here