उपाधिका लागि गुजरातसँग खेल्दै नेपाल

0
229
फाइल तस्वीर

काठमाडौं, २५ चैत/एसएमएस फ्रेन्डसिप त्रिकोणात्मक टी-२० सिरिजका लागि भारत भ्रमणमा रहेको नेपालले आइतबार उपाधिका लागि गुजरातसँग प्रतिस्पर्धा गर्दैछ। आज दिउँसो १:१५ मा सुरु हुने खेलमा नेपाल गुजरातलाई जारी प्रतियोगितामा तेस्रो पटक हराउने लक्ष्यमा छ। गुजरात भने पहिलो पटक नेपाललाई पराजित गर्दै उपाधि जित्ने लक्ष्यमा छ।

सिरिजको लिग चरणमा भएका दुबै खेलमा नेपालले गुजरातलाई हराएको थियो। पहिलो खेलमा ८ विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा ८ रनको जित हासिल गरेको थियो।

त्यस्तै, अर्को टोली बरोडालाई पहिलो खेलमा २७ रनले हराएको नेपालले अन्तिम खेलमा भने बरोडासँग ३७ रनले पराजित हुन पुगेको थियो। लिग चरणका चारमध्ये तीन खेल जितेर फाइनल पुगेको नेपाल उपाधि जित्दै ओमान यात्रामा निस्कने तयारीमा छ।

नेपालसँग हारेपनि गुजरातले बरोडालाई पहिलो खेलमा ५ विकेट र दोस्रो खेलमा ५७ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो। नेपाल ४ खेलमा ३ मा जित १ मा हारसहित शीर्षस्थानमा रहँदा गुजरात ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रह्यो। बरोडा ४ खेलमा ३ मा हार ब्योहोरेर लिग चरणबाटै बाहिरियो।

पछिल्लो खेलमा बरोडाविरुद्ध कप्तान रोहित पौडेल, आसिफ शेख, अभिनाश बोहरा र सोमपाल कामीलाई नेपालले विश्राम दिएको थियो। सम्भवत: फाइनलमा यी सबै खेलाडी टोलीमा फर्कने सम्भावना रहेको छ।

नेपालले अर्को सातादेखि ओमानमा हुने एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको तयारीका लागि भारत भ्रमण गरेको हो। एसियाकप छनोटको आधारका रूपमा रहेको प्रिमियर कपमा नेपाल विजेताको लक्ष्यमा रहेको छ।

प्रिमियर कपको विजेताले टी-२० विश्वकपपछि हुने एसियाकप खेल्न पाउने छ। नेपाल भारतबाटै ओमान प्रस्थान गर्ने कार्यतालिका रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here