काठमाडौँ, २१ माघ/नेपाली कांग्रेसले महासमिति बैठकका लागि विभिन्न ८ वटा उपसमितिहरु गठन गरेको छ । पार्टी सभापति एवम् महासमिति बैठक मूल तयारी समितिका संयोजक शेरबहादुर देउवाले बैठकका लागि विभिन्न ८ वटा उपसमितिहरु गठन गरी संयोजकहरु तोकेका हुन् ।
कांग्रेसको महाधिवेशनपछिको अर्को शक्तिशाली संगठन महासमिति हो । आगामी फागुन ७ देखि ९ गतेसम्म कांग्रेसले महासमिति बैठक बोलाएको छ ।
सभापति देउवाले बैठकका लागि प्रचार प्रसार, आवास समन्वय, भोजन व्यवस्थापन, यातायात व्यवस्थापन, स्वयम्सेवक परिचालन, स्वास्थ्य समन्वय, प्रदेश समन्वय तथा स्थानीय व्यवस्थापन उपसमितिहरु गठन गरी संयोजक तोकेका केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार प्रचार प्रसार उपसमितिमा मीनबहादुर विश्वकर्मा र आवास समन्वय उपसमितिमा मदनबहादुर अमात्यले जिम्मेवारी पाएका छन् । त्यस्तै, भोजन व्यवस्थापनमा उदय शम्शेर राणा, यातायात व्यवस्थापनमा धना खतिवडा र स्वयंसेवक परिचालनमा जीतजंग वस्नेतलाई जिम्मेवारी दिइएको छ ।
स्वास्थ्य समन्वय उपसमितिमा उर्मिला नेपाल के.सी, प्रदेश समन्वय उपसमितिमा ईन्द्रबहादुर वानियाँ र स्थानीय व्यवस्थापन उपसमितिमा ललितपुर जिल्ला सभापति जितेन्द्र श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।
महासमिति बैठकका लागि यसअघि देउवाको नेतृत्वमा मूल आयोजक समिति, उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नीति निर्माण समिति, महामन्त्री गगनकुमार थापाको नेतृत्वमा सांगठनिक प्रतिवेदन तयारी समिति र अर्का महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा समसामयिक राजनितिक प्रस्ताव तयार गर्ने समिति गठन गरिएको थियो ।