काठमाडौं, ८ माघ/कर्णाली प्रदेशलाई हराउँदै बामगती प्रदेश अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ।
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा बागमतीले कर्णालीलाई सात विकेटले पराजित गरेको हो। कर्णालीले दिएको ७९ रनको लक्ष्य बागमती प्रदेशले १३ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो।
बागमतीका लागि इशान पाण्डेले ४० र रविन जोशीले १६ रन बनाए। कर्णालीका लागि दिवान पुनले तीन विकेट लिए। यसअघि ब्याटिङ गरेको कर्णालीले २४.२ ओभरमा सबै विकेट गुमाएर ७८ रन बनाएको थियो। अर्जुन घर्तीले २३ र निश्चल रावलले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
बागमतीका लागि रिजन ढकालले पाँच, कृजन गुरुङले दुई, प्रतिश जीसी, सूर्य तामाङ र विपिन आचार्यले एक–एक विकेट लिए। ६ खेल खेलिसकेको कर्णालीले अहिलेसम्म जित हासिल गर्न सकेको छैन। कर्णाली अंक तालिकाको पुछारमा छ भने बागमती आठ अंकसहित शीर्षस्थानमा उक्लिएको छ।