काठमाडौं, १० असोज/चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध २७३ रनको जित निकाल्दा विभिन्न पाँच कीर्तिमान बनाएको छ ।
बुधबार चीनको हाङझाउस्थित जेजियाङ प्राविधिक विश्वविद्यालयको खेल मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर ३१४ रनको योगफल खडा गरेको थियो ।
ट्वान्टी–२० क्रिकेटमा हालसम्म कुनै पनि टिमले बनाएको यो अहिलेसम्मकै उच्च योगफल हो । रोमाञ्चक तथ्य के भने नेपालले हालसम्म एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि ३१४ रन बनाउन सकेको छैन । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्मकै उच्च योगफलको रूपमा ३१० रन बनाएको छ ।
मंगोलियाविरुद्ध नेपालले बनाएका पाँच कीर्तिमान:
उच्च योगफल: अन्तर्राष्ट्रिय क्रिकेटमा मंगोलियाको यो ‘डेब्यु’ खेल थियो । यसैकारण अनुभवविहीन मंगोलियाबाट नेपाली ब्याटरले भरपुर फाइदा लिए । कुशल मल्लको शतक र कप्तान रोहितकुमार पौडेलसँगै दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले ३१४ रनको योगफल खडा गरेको थियो । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो हालसम्मकै उच्च स्कोर हो । यसअघि अफगानिस्तानले आयरल्यान्डविरुद्ध २७८ रन बनाउनु नै हालसम्मकै उच्च योगफल थियो ।
फराकिलो जित: नेपालले प्रस्तुत गरेको ३१५ रनको लक्ष्य पछ्याएको मंगोलियाले १३.१ ओभरमा सबै विकेट गुमाएर ४१ रनमात्र बनाउन सक्यो । नेपालले २७३ रनको जित दर्ता गर्यो । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि टिमले निकालेको यो अहिलेसम्मकै फराकिलो जित हो । यसअघि चेक गणतन्त्रले टर्कीविरुद्ध सन् २०१९ मा २५७ रनको जित निकाल्दै यो कीर्तिमान बनाएको थियो ।
सर्वाधिक छक्का: मंगोलियाविरुद्ध विस्फोटक ब्याटिङ गरेको नेपाली टिमले कुल २६ छक्का प्रहार गर्यो । योसँगै नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै इनिङमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने कीर्तिमान पनि आफ्नो नाममा लेखायो ।
यसअघि यो कीर्तिमान पनि अफगानिस्तानकै नाममा थियो । अफगानिस्तानले आयरल्यान्डविरुद्ध २७८ रन बनाउँदा २२ छक्का प्रहार गरेको थियो । नेपालबाट कुशल मल्लले १२, दीपेन्द्रले आठ र कप्तान रोहितले ६ छक्का प्रहार गरेका थिए । मंगोलियाविरुद्ध नेपालले २६ छक्का प्रहार गर्दा १४ चौका प्रहार गरेको थियो ।
कुशलको कीर्तिमानी शतक: मंगोलियाविरुद्ध तेस्रो नम्बरमा ब्याटिङका लागि आएका कुशल मल्लले ५० बलमा १२ छक्का र आठ चौकासहित १३७ रन बनाएका थिए । हाङझाउमा आफ्नो स्वभाविक शैलीमा प्रस्तुत भएका कुशलले ३४ बलमै शतक प्रहार गरेका थिए ।
योसँगै ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक बनाउने क्रिकेटर बने । यसअघि भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेक गणतन्त्रका सुदेश विक्रमासेकराले समान ३५ बलमा शतक प्रहार गर्दै यो कीर्तिमान राखेका थिए ।
दीपेन्द्रको कीर्तिमानी अर्धशतक: मंगोलियाविरुद्ध कुशलसँगै आक्रामक रूपमा प्रस्तुत भएका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले १० बलमा आठ छक्कासहित अविजित ५२ रन बनाए । दीपेन्द्रले मंगोलियाविरुद्ध नौ बलमै अर्धशतक बनाएका थिए ।
ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्र सबैभन्दा छिटो अर्धशतक बनाउने क्रिकेटर बने । यसअघि यो कीर्तिमान भारतका युवराज सिंहले बनाएका थिए । युवराजले सन् २००७ मा इंग्ल्यान्डविरुद्ध १२ बलमै अर्धशतक पूरा गरेका थिए ।