हेटौंडा, २८ भदौं\मकवानपुरको हेटौंडा उपमहानगरपालिका १ मा रहेको सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारी माथि भएको सांघातिक आक्रमण गरि गम्भिर घाइते बनाइएकोप्रति नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जिव तिवारीले दोषिमाथि कडा भन्दा कडा कार्वाही गर्न माग गरेका छन् ।
चिकित्सक संघका महासचिव तिवारीले दोषीलाई पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारवाहीका लागि आग्रह गरेका छन् ।
दोषीलाई कारवाहीको दायरामा नल्याएका संघ चरण बद्ध आन्दोलनको घोषणा गर्न बाध्य हुने महासचिव तिवारीले बताए ।
त्यस्तै, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल मकवानपुर शाखाले पनि विज्ञप्ती जारी गर्दै दोषीको कारवाहीको माग गरेको छ ।
स्वास्थ्यकर्मी माथी भएको कुटपिटको घोर भत्सर्ना गर्दै जिल्ला अध्यक्ष भोला प्रसाद चौलागाईले एक महिना अघिको घटनालाई जोडेर डाक्टरहरु माथी भएको कुटपिटले सिंगो स्वास्थ्यकर्मी असुरक्षित भएको महशुस गरिएको बताए । उनले कुटपिट गर्ने सबैलाई पक्राउ गरी आवश्यक कारवाहीको माग समेत गरेका छन् । कारवाही नभए महासंघ आन्दोलनको कार्यक्रम सार्वजनिक गरि विरोध जनाउने बताए ।
त्यस्तै, नेपाल ट्रेड युनियन कांग्रेससँग आवद्ध रहेको नेपाल स्वास्थ्यकर्मी संघ मकवानपुरले पनि विज्ञप्ती जारी गर्दै डाक्टरद्धय माथी भएको आक्रमणको निन्दा गरेको छ ।
संघका उपाध्यक्ष सुधीर दाहालले विज्ञप्त मार्फत घटनामा संलग्नहरु पक्राउ गरी हदैसम्मको कारवाहीको माग राखेका छन् । स्वास्थ्यकर्मी र औषधि व्यवसायीको सुरक्षाको ग्यारेन्टी नभएको खण्डमा हामी आन्दोलनमा समेत उत्रने उपाध्यक्ष दाहालले बताए ।
डाक्टरहरुलाई अस्पतालको आफ्नै कार्यकक्षमा सामूहिक आक्रमण गरिएको थियो ।
सिसी क्यामेरा फुटेज हेर्दा पुरुषहरुको साथमा आएका केही महिलाहरुले समेत कुटपिट गरेको देख्न सकिन्छ ।
कुटपिट गरेपछि उनीहरु त्यहाँबाट फरार रहेको र उनीहरुको खोजि कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।