हेटौंडा, २१ भदौं/नेपाली कांग्रेस बागमती प्रदेशले सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमणमा संलग्नलाई कारबाहीको माग गरेको छ ।
बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले जारी गरेको विज्ञप्तिमा सहमहामन्त्री यादवलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाईते बनाएको घटनालाई कांग्रेस बागमती प्रदेश कार्यसमितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘देशको राजधानीको मुटु भृकुटी मण्डप जस्तो ब्यस्त ठाउँमा नेपाली कांग्रेसको सहमहामन्त्री यादवमाथि आक्रमण हुनुले राज्यको सुरक्षा व्यवस्था माथि नै गम्भीर प्रश्नचिन्ह खडा भएको छ । नेपाली कांग्रेस र समग्र लोकतन्त्रलाई कमजोर बनाउन गरिएको यस्तो आपराधिक क्रियाकलापको कांग्रेस बागमती प्रदेश कार्यसमिति निन्दा गर्दछ ।’
बुधबार प्रदर्शनी मार्गस्थित रिपोर्टर्स क्लबबाट बाहिरिँदै गर्दा यादवमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट टाउकोको पछाडिको भागमा चोट लागेको छ । उनको ट्रमा सेन्टरस्थित आइसियू कक्षमा उपचार भइरहेको छ । यादवमाथि खुकुरी प्रहार गर्ने श्यामबहादुर सापकोटा राजतन्त्र समर्थक, यसअघि पनि विभिन्न व्यक्तिलाई मोसो दल्नेलगायत गतिविधिमा सक्रिय व्यक्ति रहेको बुझिएको छ ।