६० किलो सुन तस्करी प्रकरणः दीपेश पुनसँग सीआईबीले लियो बयान

0
312

काठमाडौं, १९ भदौं/त्रिभुवन विमानस्थल बाहिरबाट समातिएको ६० केजी सुन तस्करीमा संलग्नताको आशंकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसँग बयान लिएको छ ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मुलका बेल्जियन नागरिक दावा छिरिङसँगको कनेक्सनका आधारमा सीआईबी​ले दीपेशसँग सोमवार बयान लिएको हो ।

‘दावासँगको कनेक्सन र अन्य सूचनाका आधारमा दिपेशसँग बयान लिइएको हो,’ प्रहरी उच्च स्रोतले भन्यो ।

सीआईबीले ६० केजी सुन तस्करी प्रकरणमा संलग्नताको आशंकामा १०० जनाको सूची बनाएर अनुसन्धान गरिरहेको छ ।

दीपेशसँग ४ घण्टा बयान लिइएको प्रहरी उच्च स्रोतले बतायो । सुन तस्करी प्रकरणमा दिपेशको नाम जोडिएसँगै उनीमाथि अनुसन्धान गर्न माओवादी पंक्तिमा दबाब परेको थियो । पुन माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नेता हुन् ।

ठमेलमा होटल सञ्चालन गर्दै आएका छिरिङ साउन १४ गते पक्राउ परेका थिए ।

सीआईबीले ६० किलो सुन तस्करी सम्बन्धमा आफ्नो अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको जनाएको छ । यसैक्रममा सुन तस्करीका नाइके छिरिङसँग पटक–पटक सम्पर्क भएका व्यक्तिसँग सीआईबीले बयान लिइरहेको छ ।

यसअघि विद्युतीय चुरोट (भेप) मार्फत् भएको ९ किलो सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा भदौ १३ गते पक्राउ परिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here