हेटौँडा, २१ असार/बागमती प्रदेश सभामा पेश भएको विनियोजन विधेयक २०८० माथि उठेका प्रश्नहरुको मन्त्रीले जवाफ दिने क्रम चलिरहेको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक आधा घण्टापछि सुरु भएको थियो ।
बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालयका बारेमा उठेका प्रश्नकाे जवाफ दिने प्रदेश सभाको कार्यसूची छ । प्रदेश सभा सदस्यहरुले मन्त्रीहरुले जवाफ दिएपछि पूरक प्रश्न गर्नेसमेत कार्यक्रम छ ।
आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा तामाङले प्रदेश सभा बैठकमा पेश गर्नुभएको आर्थिक वर्ष २०८०/०८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्नेसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० माथि मङ्गलबार र बुधबार छलफल भएको हो ।
प्रदेशका मन्त्रालयहरु र निकायहरुको एकमुष्ट रुपमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि प्रदेश सभा बैठकमा भएको छलफल भएको थियो ।
बुधबार भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, कृषि विकास तथा पशुपन्छी मन्त्री डा. राजेन्द्रमान श्रेष्ठ, श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, पर्यटन उद्योग तथा सहकारीमन्त्री पुकार महर्जन, स्वास्थ्यमन्त्री उत्तम जोशी र वन तथा वातावरणमन्त्री मसिना खड्काले आ–आफ्नो मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नको जवाफ दिनुभएको थियो ।
प्रदेशका मन्त्रालय र निकायहरुको बजेटमाथिको छलफलमा भाग लिने प्रदेश सभा सदस्यहरुले बजेट पक्षपाती र असन्तुलित भएको, मुख्यमन्त्री र केही मन्त्रीहरुको निर्वाचन क्षेत्र केन्द्रित गरी बजेट विनियोजन गरिएको भन्दै आवश्यकता, भूगोल र जनसङ्ख्याको आधारमा बजेट विनियोजन गर्न माग गरेका थिए ।