काठमाडौं, २१ असार/राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ को नतिजा प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ ।
परीक्षा नियन्त्रण विष्णुनारायण श्रेष्ठले नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको जानकारी दिएका छन् । परीक्षा नियन्त्रण श्रेष्ठका अनुसार तथ्याङ्कको शुद्धाशुद्धि परीक्षण गर्ने र परीक्षाको नतिजा प्रकाशन गर्ने तयारीलाई तीव्र बनाइएको छ ।
श्रेष्ठका अनुसार उत्तरपुस्तिका परीक्षण गरेर तथ्याङ्क प्रविष्ट गर्ने कामसमेत सकिएको र रुजु गर्ने काम भइरहेको छ । ‘एसइईको नतिजा प्रकाशनको अन्तिम तयारी छ । अहिले रुजुको काम चलिरहेको छ, सकेसम्म छिट्टै नतिजा सार्वजनिक गर्छौँ, श्रेष्ठको भनाइ छ ।
नतिजा सार्वजनिक गर्ने अन्तिम निर्णयका लागि बुधबार बोर्ड बैठक बोलाइएको थियो । कुनै प्राविधिक समस्या नआए बुधवार साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी थियो, कुनै प्राविधिक समस्या आएमा भने आज बिहिबार नतिजा प्रकाशन गरिने छ ।
एसइईको नतिजा विभिन्न वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने छ ।
परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएका छन् । जसमा १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ ।