पोखरा, ६ असार/चिनियाँ ऋण लगानीमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक विदेशबाट आउने विमान बनेको छ चिनियाँ चार्टड विमान।
चीनको छेन्दुक सहरबाट बिहान सिचुवान एयरलाइन्सको एयरबस ३१९ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको रुपमा पहिलो पटक अवतरण गरेको हो ।
१३० जना अट्ने क्षमताको विमानमा ८४ जना प्यासेन्जर लिएर चिनियाँ समय बिहान ८ बजेर १५ मिनेटमा उडेको जहाज ३ घण्टा १३ मिनेट समय लागेर बिहान पौने ९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो।
विमानमा चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष सहितको टोली पनि पोखरा आएको थियो । पहिलो विमानबाट पोखरा आएका चिनियाँ पाहुँनालाई पोखरेलीले भन्वय स्वागत गरेका छन् । पोखरा विमनस्थल नजिकै चिनियाँ पाहुँनाको स्वागतमा स्वागतद्वार बनाइएको छ । पोखराको मुख्य बजार क्षेत्रमा चिनियाँ फेस्टिभलको बारेका ब्यानर राखेर झिलिमिली बनाइएको छ ।
१ जनवरी २०२३ मा देखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल झन्नै ६ महिनापछि पहिलो पटक अन्तर्राष्ट्रिय उडान भएको हो । पर्यटकीय सहर पोखराको फेवातालमा असार ८ र ९ गते नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट रेस फेस्टिभल हुँदै छ । ड्रागन रेस फेस्टिभलका लागि नै चिनियाँ पाहुँना लिएर चार्टड विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवरतण गरेको हो ।
चीनका विभिन्न सहरबाट नियमित उडान पनि छिट्टै सुरु हुने विश्वास पर्यटन व्यवसायीको छ । योसँगै भारत र अन्य मुलुकबाट पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्तलमा नियमित अन्तर्राष्ट्रिय उडान र अवतरण हुने विश्वास पोखराका पर्यटन व्यवसायीले गरेका छन् ।