काठमाडौं, ६ असार/भारतको बेंग्लोरमा १४औँ संस्करणको दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिप आज बुधबारदेखि सुरु हुँदैछ । समूह ‘ए’मा साबिक उपविजेता नेपालले कठिन प्रतिद्वन्द्वी कुवेतसँग खेल्दै प्रतियोगिता सुरु गर्नेछ । साफ च्याम्पियनसिपमा लेबनान र कुवेत आमन्त्रित राष्ट्रका रूपमा रहेका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा समूह ’ए’ मा रहेको नेपालले बुधबार कुवेतको सामना गर्दैछ । उद्घाटन खेल नेपाली समयअनुसार, दिउँसो ३ः४५ बजे सुरु हुनेछ । नेपाल साफ च्याम्पियनसिपको साविक उपविजेता टोली हो । पहिलो दिन बधुबार नै आयोजक भारत र पाकिस्तानबीच अर्को खेल हुनेछ । साविक उपविजेता नेपाल र बलियो कुवेतबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।
तीन वर्षअघि माल्दिभ्समा उपविजेता बनेको र अहिलेको नेपाली टोलीबीच धेरै परिवर्तन भएको छ । माल्दिभ्समा उपविजेता बनेको अधिकांश सिनियर खेलाडी अस्ट्रेलिया पलायन भएका छन् । प्रशिक्षक भिसेन्जो अल्वर्टो धेरै युवा तथा सिनियर खेलाडीका साथ बेंग्लोर पुगेका छन् ।
यसका कारण प्रशिक्षक भिसेन्जोमाथि राम्रो नतिजा निकाल्न चुनौती छ । फेरि नेपालले साफका लागि सामान्य प्रशिक्षण मात्र गरी सहभागिता जनाएको हो । नेपालले फिलिपिन्समा केवल एउटा मात्र अभ्यास खेल खेल्दै सीधै भारत लागेको हो ।
लगातार तीन महिना सहिद स्मारक ‘ए’ डिभिजन लिग चल्दा अखिल नेपाल फुटबल संघ (एन्फा)ले क्लोज क्याम्प राख्न सकेन । एन्फाले क्लोज क्याम्प राख्दा पनि ‘ए’ डिभिजन लिगमा आबद्ध क्लबले खेलाडी रिलिज नगर्ने धम्की दिएका थिए ।
घरेलु भूमिमा नेपाली खेलाडीले अभ्यास नै गर्न पाएनन् । एसियाली फुटबलमा बलियो मानिने कुवेतसँगको नेपालको प्रदर्शन राम्रो छैन । कुवेतसँग अहिलेसम्म नेपालले ९ खेल खेलेको छ । नेपाल आठ खेलमा कुवेतसँग पराजित भएको छ ।
सन् २०१९ मार्चमा भएको मैत्रीपूर्ण खेलमा नेपालले कुवेतलाई गोलरहित बराबरीमा रोकेको थियो । कुवेतविरुद्धको उत्कृष्ट नतिजा नै यही नै हो । नेपाललाई समूह चरण पार गर्न नै कठिन छ । यस समूहमा साबिक विजेता भारतसँगै फिफा निलम्बनबाट फर्केको पाकिस्तान पनि छ ।