हेटौंडा, ३२ जेठ/पानी परेसंगै गएको पहिरोले गर्दा हेटौंडाबाट काठमाडौं जोड्ने कुलेखानी हुँदै काठमाडौं जोड्ने बाटो र कान्तिलोकपथ जोड्ने सडक खण्ड अवरुद्ध भएको छ ।
बुधबार राती परेको अविरल वर्षासंगै पहिरो खसेपछि हेटौंडा हुँदै काठमाडौं जोड्ने कुलेखानी–सिस्नेरी सडकखण्ड र हेटौंडा हुँदै काठमाडौं जोड्ने बैकल्पिक मार्गकोरुपमा रहेको कान्तिलोकपथ सडकखण्ड अवरुद्ध भएको हो ।
बर्षाका कारण कुलेखानी काठमाडौं सडकखण्ड अन्तर्गत ईन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरी आसपासको स्थानमा पहिरो खसेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताएका छन् ।
त्यस्तै हेटौंडा काठमाडौं जोड्ने बैकल्पिक राजमार्ग अन्र्तगत मकवानपुरको भीमफेदी–८ गगटे तथा कालिपहिरो र ललितपुरको काल्चे, भट्टेडाडा आसपासको स्थानमा पहिरो गएको प्रवक्ता कार्कीले जानकारी दिए ।
कान्तिलोकपथ अन्र्तगत भीमफेदी–८ गंगटे तथा कालिपहिरो र ईन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरी आसपासको स्थानमा पहिरो र लेदो पन्छाउन समन्वय भइरहेको मकवानपुर प्रहरी प्रवक्ता कार्कीले बताए ।