काठमाडौं, ३२ जेठ/डा. वैकुण्ठ अर्याललाई सरकारले नेपाल सरकारको मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गरेको हो ।
हालसम्म कायम मुख्यसचिव शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएर अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गरिएको हो ।
अर्याल यही ३ असारमा पाँचवर्षे सेवाअवधिका कारण सचिवबाट निवृत्त हुँदै थिए । उनी ३ असार ०७५ मा सचिव भएका थिए । कर्मचारीको उमेरहद ५८ नै कायम रहे ६ मंसिर ०२४ जन्ममिति भएका उनले पूरा कार्यकाल मुख्यसचिव हुन पाउने छैनन् । मुख्यसचिवको पदावधि तीन वर्ष हुने व्यवस्था छ ।
बैरागीको कार्यकाल आगामी असोजसम्म भए पनि सुरक्षा सल्लाहकारको नियुक्ति दिएर सरकारले अर्याललाई मुख्यसचिव बनाएको हो । पूर्वरक्षासचिव आत्माराम पाण्डेले यसकाे विराेध गरेका छन् । उनी भन्छन्- सुरक्षा सल्लाहकार पद पनि छैन, बैरागी विज्ञ पनि होइनन् । व्यवस्थापन गर्न कानुनमै नभएको पद सिर्जना गरेर बैरागीलाई नियुक्ति गरियो ।