काठमाडौं, ३१ जेठ/नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन शुक्रबार नेपाल आउने भएका छन् ।
लामो समयदेखि चीनमा उपचार गराइ रहेका नेता पुन स्वास्थ्यमा पूर्ण सुधार भएपछि नेपाल फर्कन लागेका हुन् ।
उनी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीसहित असार १ गते शुक्रबार बिहान ११ बजे काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने उनको सचिवालयले जानकारी दिएको छ ।
पूर्व अर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका नेता पुन जटिल प्रकारको वंशाणुगत जन्डिस बल्झिएपछि उपचारका लागि गत १ फागुनमा चीन गएका थिए । उनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गरिएको हो ।
उनको शरीरमा जन्डिसको मात्रा (बिलरुबिन) ४० बाट घटेर १.५ बिन्दुमा झरेको छ । सामान्य मानिसमा बिलरुबिनको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने चिकित्सकहरू बताउँछन् ।
यसअघि नेता पुनको शरीरमा कम्तीमा बिलरुबिनको मात्रा ११ देखि १२ सम्म हुँदा समेत सामान्य मानिने गरिएको थियो ।