मोरङ, ३० जेठ/नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गरी मार्गप्रस्ट गर्नका लागि आग्रह गरेका छन् ।
मोरङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न आएका महामन्त्री थापाले मंगलबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सभापति देउवालाई नेतृत्व परिवर्तनमा सकारात्मक हुन आग्रह गरेका हुन्।
पत्रकारसँगको कुराकानीका क्रममा महामन्त्री थापाले भने, ‘पार्टी सभापतिले अहिलेसम्म जे जति गर्नुभयो। पार्टीमा ठूलो योगदान छ। यसप्रति हामी आभारी छौँ। यससँगै समर्थक, शुभेच्छुक र जनताको चाहना उहाँले नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा उचित हुने देखिएको छ।’
यसमा उनले थपे,’अब योभन्दा अघिको यात्रामा मैले गरिराख्नु पर्छ। मैले गरिनँ भने पार्टी सम्हालिन्नँ भन्ने सोचाइबाट बाहिर निस्कनुपर्छ। जति छिटो पार्टीको नेतृत्व उहाँले हस्तान्तरण गर्दा उहाँ र पार्टीको हितमा हुनेछ।’
देउवाले विगत पाँच पटक प्रधानमन्त्रीको जिम्मेवारीवहन गरिसकेको हुँदा संसदीय कार्यकालमा पार्टीको नयाँ नेतृत्वमा सरकार बन्ने बताए। उनले भने,’पाँचपटक प्रधानमन्त्री बनिरहँदा देश र जनताका लागि थुप्रै काम भएका छन्। उहाँप्रति सम्मान छ। अब भने कांग्रेसतर्फ नयाँ ब्यक्ति प्रधानमन्त्री भएको हेर्न चाहेको छ। त्यसमा जोपनि हुनसक्छ। यसका निम्ती पार्टी नेतृत्व हस्तान्तरण गर्ने र पार्टीतर्फबाट प्रधामन्त्री हुने ब्यक्तिलाई मार्ग प्रशस्त गरिदिँदा उहाँ र पार्टीको हितमा छ।’