हेटौंडा, २३ जेठ/नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य एंव पार्टी प्रवक्ता खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड) ले पुष्पकमल दाहाल प्रचण्डको सरकार अहिलेसम्मकै खराब रहेको आरोप लगाएका छन् । उनले सरकार टिकाउन प्रचण्डले विदेशीको चाकडी गरेको आरोप लगाउँदै देशको अस्तित्व शंकटमा परेको दावी गरे ।
मंगलबार हेटौंडामा पत्रकारहरुसँग कुरा गदै प्रकाण्डले प्रचण्ड नेतृत्वको सरकारको चरित्र देश विरोधी दलाल चरित्रको रहेको आरोप पनि लगाए ।
‘दैनिक जसो विदेशियका युवाको लर्कोले देशको अवस्था र सरकारको वास्तविकतालाई प्रष्ट पारेको छ । सक्रिय युवा शक्ति विदेशीको हातमा पुगेको छ । तर सरकारलाइृ कुनै चिन्ता छैन ।’ उनले भने । युवालाई देशमै टिकाइराख्ने सरकारसँग कुनै नीति र योजना नरहेको प्रवक्ता प्रकाण्डले दावी गरे ।
यस्तै उनले कुनै समय राष्ट्रिय स्वाधिनताको चर्का कुरा गर्ने प्रचण्डले भारत भ्रमणका बेला भारतले अतिक्रमण गरेको नेपालको कालापानी, लिम्पियाधुरा लगाएतका क्षेत्रका बिषयमा कुरा उठाउँन नसक्नु लज्जाको बिषय भएको बताए । ‘आफ्नै देशको भूमिको बिषयमा बोल्न नसक्नु लज्जाको बिषय हो । प्रधानमन्त्रीले लिम्पियाधुरा र कालापानिको बिषयमा कुरा नउठाएर भारत सामू कायरता प्रर्दशन गरेका छन्,’ उनले भने ।
नेपाली भूमि माथिको भारतीय कुदृष्टि विरुद्धको अभियानमा आफुहरु निरन्तर लागिरहेको बताउँदै प्रवक्ता प्रकाण्डले त्यसलाई पराजित गरेरै छाड्ने दावी पनि गरे ।