हेटौंडा, १५ जेठ/बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार मनाइँदै गरिएको सोह्रौं गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै देशलाई सुशासन, विकास एवं समृद्घिको पथमा लम्किने आधार गणतन्त्रबाट निर्माण भएको बताएका छन् ।
नेपाल शाहवंशीय राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरेको ऐतिहासिक र गौरवमय दिनका रुपमा गणतन्त्र दिवसलाई प्रमुख शर्माले उल्लेख गरेका छन् ।
‘यस महत्वपूर्ण दिनको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई एवं दिदीबहिनीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’ प्रदेश प्रमुख शर्माले भनेका छन, ‘गणतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात, अज्ञात अमर शहीदहरूप्रति हार्दिक श्रद्घासुमन अर्पण गर्दै बेपत्ता,घाईते तथा अपाङ्ग योद्धाहरुमा उच्च सम्मान प्रकट गर्दछु ।’
प्रमुख शर्माले शुभकामना सन्देशमा ऐतिहासिक जनआन्दोलन २०६२÷०६३ को बसन्त क्रान्तिको जगमा नेपाली जनताका प्रतिनिधिमार्फत २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट हाम्रो देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरिएको उल्लेख गरेका छन् ।
‘यो दिनलाई हामी वंश परम्परामा चलिआएको निरंकुश, केन्द्रिकृत र एकात्मक शासन व्यवस्थाको अन्त्य गर्दै नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउँने दिनका रुपमा स्मरण गर्दछौं’ प्रदेश प्रमुखको शुभकामना सन्देशमा छ ।