दाङ, २८ माघ/कांग्रेस नेता प्रकाशमान सिंहले राष्ट्रपति निर्वाचनपछि नयाँ सत्ता समीकरण बन्ने दाबी गरेका छन् ।
नेपाल प्रेस युनियन दाङले गरेको पत्रकार सम्मेलनमा सिंहले राष्ट्रपतिको निर्वाचनले समीकरणमा बदलाव ल्याउन सक्ने बताएका हुन् ।
अहिले नै नयाँ गठबन्धन बन्ने पक्का नभए पनि कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिनुको नतिजा देखिने उनको भनाइ छ ।
‘पुरानै गठबन्धन ब्युँतिने गरी समीकरण बन्न लागिसक्यो भन्ने त होइन तर पछिल्ला संकेतले अहिलेको सत्ता समीकरण कायम रहिरहन्छ भन्ने देखिएको छैन’, सिंहले भने, ‘कांग्रेसले किन विश्वास प्रधानमन्त्ती प्रचण्डलाई दियो भन्ने नतिजा राष्ट्रपतिको निर्वाचनपछि देखिनेछ ।’
राष्ट्रपतिको उम्मेदवारमा माओवादीले कांग्रेस उम्मेदवारलाई सहयोग गर्ने दाबी पनि उनले गरे । माओवादीले राष्ट्रपतिमा सहयोग गर्ने भएरै कांग्रेसले विश्वासको मत दिएको पनि उनको भनाइ थियो ।