कांग्रेसका उम्मेदवार नै राष्ट्रपति: बानियाँ

0
348

हेटौंडा, २७ माघ/नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेश सांसद् ईन्द्रबहादुर बानियाँले कांग्रेसका उम्मेदवार नै राष्ट्रपति बन्ने दावी गरेका छन् । 


नेपाल शिक्षक सङ्घ मकवानपुरको नवौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले राष्ट्रपति कांग्रेसकै हुने दावी गरेका हुन् । राष्ट्रपतिको निर्वाचन पश्चात नेतृत्वदायी भूमिका सहित कांग्रेस सरकारमा समेत जाने बताए । 


अहिलेको अवस्थालाई लिएर निराश नहुन समेत उनले शिक्षक सङ्घका सदस्यहरुलाई अनुरोध गरे । अबको शिक्षा नीति उत्पादनसँग जोडिने खालको हुनुपर्ने नेता बानियाँको भनाई थियो ।


‘स्थानीय सरकारसँग समन्वय गरी काम गर्नुहोस्, त्यो वातावरण म बनाउँछु’, उनले भने, ‘निर्वाचनको सन्दर्भमा समेत शिक्षक संघले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।’ स्थानीय तहको निर्वाचनमा राप्रपाले पाएको भोटकै कारण संघ र निर्वाचनमा कांग्रेसले हार व्यहोरेको उनले जिकिर गरे । 


‘राप्रपाले आन्तरिक संगठन मजबुत बनाएको पाइयो । जनताले समय अनुसार मन र मत परिवर्तन गर्दो रहेछ भन्ने पनि देखियो’, बानियाँले भने, ‘अब सबै एक भएर अघि बढ्नु जरुरी छ ।’ 


शिक्षक सङ्घ मकवानपुर अध्यक्ष रामकुमार अधिकारीको अध्यक्षतामा भएको अधिवेशनमा नेपाली कांग्रेस मकवानपुरका पदाधिकारी, शिक्षक सङ्घका केन्द्रीय पदाधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here