हेटौंडा, २९ पुस/बागमती प्रदेशमा सभामुखमा सत्ता गठबन्धनको तर्फबाट राप्रपाका भुवनकुमार पाठक ६२ मतसहित निर्वाचित भएका छन् ।
शुक्रबार प्रदेशसभामा भएको सभामुखको निर्वाचनमा पाठकको पक्षमा ६२ मत, विपक्षमा ३९ मत र तटस्थमा ७ मत परेको छ । यसअघि कांग्रेसका अधिकारीको पक्षमा ३६ मत, विपक्षमा ६५ मत र तटस्थ ७ मत परेको थियो भने नेमकिपा उम्मेद्वार सायजुको पक्षमा ३ मत, विपक्षमा ९८ मत र तटस्थमा ७ मत परेको छ ।
१०९ जना प्रदेशसभा सदस्य उपस्थित भएकामा कायममुकायम सभामुखले मतदान गरेका थिएन् भने नेपाली कांग्रेसका सांसद कन्चनचन्द्र बादे उपस्थित थिएनन् ।
सभामुख पदका लागि ३ जनाको उम्मेदवारी परेको थियो । सभामुख पदका लागि सत्ता गठबन्धनबाट राप्रपाका भुवनकुमार पाठक, नेपाली कांग्रेसबाट शिवराज अधिकारी र नेमकिपाकी सिर्जना सायजुले मनोनयन दर्ता गरेका थिए ।
बागमती प्रदेशसभाको सभामुखका सत्ता गठबन्धनका ५ वटा दलको समर्थनमा राप्रपाका पाठक उम्मेदवार बनेका हुन् । राप्रपाका पाठकलाई एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन छ ।
११० सदस्यीय बागमती प्रदेशसभामा नेपाली कांग्रेसको ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३ जना सांसद छन् भने एकीकृत समाजवादीका ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीका २ जना प्रदेशसभा सदस्य रहेका छन् ।