घनश्याम भुसाल भोलि शुक्रबार एकीकृत समाजवादीमा प्रवेश गर्दै

0
278

काठमाडौं, २८ पुस/मंसिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा नेकपा एमाले परित्याग गरी रुपन्देही १ बाट स्वतन्त्र चुनाव लडेका घनश्याम भुसाल भोलि शुक्रबार एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् ।

भुसाल भोलि शुक्रबार एक कार्यक्रमकाबीच नेकपा एस प्रवेश गर्ने कार्यक्रम तय भएको नेकपा एसका एक पोलिटब्युरो सदस्यले जानकारी दिए । भुसाललाई स्वागत गर्न नयाँ बानेश्वरस्थित हाेटल अर्यालमा कार्यक्रम गरिँदैछ ।

एमाले स्थायी कमिटी सदस्य रहेका भुसालले मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा पार्टीबाट टिकट पाएका थिएनन् । तत्कालीन नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले समर्थन गरे पनि उनले चुनाव जित्न सकेनन् । उनले चुनाव नेकपा एमालेका सचिव छविलाल विश्वकर्मासँग हारेका थिए ।

तत्कालीन सत्तागठबन्धनको सहयोगमा पनि चुनाव जित्न नसकेका भुसाल अब कता जान्छन् के गर्छन् भन्ने अड्कल बाजी भइरहेको थियो । तर, केही दिन पहिला उनले नेकपा एसलाई आफ्नो धारणा लिखितरूपमा नै बुझाए ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले उनलाई शुक्रबार पार्टीमा स्वागत गर्ने कार्यक्रम छ । ती पोलिटब्युरो सदस्यका अनुसार नेता भुसाल नेकपा एसको पदाधिकारीको जिम्मेवारी पाउने सर्तमा पार्टीमा आउन लागेका हुन् । तर, कुन पद भन्ने विषयमा भने टुंगो लागिसकेको छैन । ती सदस्यले भने, ‘पार्टी आएपछि उनको पदका बारेमा छलफल हुन्छ । अहिले नै यही पद दिने भन्ने भएको छैन । आवश्यक परे महासचिव नै दिन सकिन्छ ।’

मार्क्सवाद, अर्थतन्त्रको विश्लेषण तथा अध्ययनमा विशेष रुचि राख्ने नेता भुसाल गतवर्ष मंसिरमा सम्पन्न भएको नेकपा एमालेको १०औँ महाधिवेशनमा उपाध्यक्षमा पराजित भएका थिए ।

माधवकुमार नेपाल पक्षले नेकपा एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी गठन गर्दा पनि भुसाललगायत १० जना नेताहरू एमालेमा नै बसेका थिए । एमालेमा बसेका नेपाल निकट मानिएका नेताहरू १० बुँदे सम्झौता गरी एमालेमै बसेका थिए ।

तर, चुनावमा भुसालसहित नेता भीम रावललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट दिएनन् । टिकट नपाए पनि नेता रावल एमालेमै बसेका छन् भने भुसालले तत्काल पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here