काठमाडौं, २६ पुस/ राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने जनाएको छ ।
विश्वासको मतमाथि चलिरहेको छलफलमा सहभागी हुँदै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारलाई समर्थन नदिई विपक्षमा बस्ने बताए । त्यस्तै नेमकिपाका सांसद प्रेम सुवालले वर्तमान सरकारलाई विश्वासको मत दिन नसकिने बताए ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले लोकतन्त्रमा बलियो प्रतिपक्षको परिकल्पना हुने भए पनि सबै दल सरकारमा सहभागी भएको भन्दै आश्चर्य प्रकट गरे । साथै, उनले सबै दलले सरकारमा गएर षड्यन्त्रमा त सहभागी होइन भन्ने आशंका पनि व्यक्त गरे ।
‘संसद् जतिवेला पनि भत्काउन पाइन्छ भन्ने आज पनि सुनियो । साथै सबै दलले सरकारलाई समर्थन गरिरहेका छन् । कतै, भोलि समर्थन फिर्ता लिएर सरकार ढाल्ने र आफ्नो सरकार बनाउने नियतले त यो भइरहेको छैन ?’ केसीले भने ।
उनले हरेक प्रधानमन्त्रीले विकासका फेहरिस्त सुनाउँदै आएको चर्चा गर्दै त्यसको कार्यान्वयनमा संशय व्यक्त गरे ।