मुलुकको विशिष्ट परिस्थिति हेरेर विश्वासको मत दिने निर्णय गर्‍यौं : उपसभापति खड्का

0
448

काठमाडौं, २६ पुस/नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मुलुकको विशिष्ट परिस्थिति हेरेर सरकारलाई विश्वासको मत दिने निर्णयमा पुगेको बताएका छन् । प्रतिनिधिसभाको बैठकबाट बाहिरिनेक्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपसभापति खड्काले ०५१ मा पनि कांग्रेसले मनमोहन अधिकारी नेतृत्वको सरकारलाई यसैगरी विश्वासको मत दिएको स्मरण गराए ।

‘हामीले समग्र मुलुकको परिस्थितिको मूल्यांकन गर्दै विशेष निर्णय गरेका हौं । सबैलाई थाहै छ, हामीले ०५१ सालमा विशेष परिस्थितिलाई ध्यानमा राखेर मनमोहन अधिकारीको सरकारलाई पनि विश्वासको मत दिएका थियौं,’ उनले भने, ‘यसपटक पनि त्यस्तै निर्णय गरेर विश्वासको मत दिएका हौं ।’
उपसभापति खड्काले कांग्रेसले विश्वासको मत दिने निर्णय सरकार अल्पमतमा पर्ने वा बहुमतमा हुने कुरासँग नजोडिएको बताए । ‘सरकार जोगिनु र नजोगिनुसँग हाम्रो निर्णय सम्बन्धित छैन । यो मुलुकको विशेष परिस्थितिसँग जोडिएको विषय हो । सरकारको बहुमत र अल्पमतको कुरामात्रै होइन, यो राष्ट्रिय राजनीतिका मुद्दाहरूसँग सम्बन्धित छ । देशको गिर्दो आर्थिक अवस्थालाई कसरी माथि उठाउने भन्ने चुनौतीपूर्ण अवस्था छ,’ उनले भने, ‘यसमा कुनै पनि राजनीतिक लेनदेख र सहमति छैन ।’

उपसभापति खड्काले विश्वासको मत दिएर पनि कांग्रेसले अब सशक्त प्रतिपक्षको भूमिका निभाउने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here