बागमती प्रदेशका नवनियुक्त दुई मन्त्री थपलिया र थापा को हुन् ?

0
378

हेटौंडा, २६ पुस/बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार पद तथा गोपनीयताको शपथ लिएलगत्तै तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

प्रदेश सरकारमा नेकपा एमालेबाट जगन्नाथ थपलिया र राप्रपाबाट उद्धव थापा सहभागी भएका हुन् । थपलियाले प्रदेशको अर्थ मन्त्रालय सम्हाल्ने अवसर पाएका छन् भने थापालाई विभागीय जिम्मेवारी तत्काल दिइएको छैन ।

को हुन् जगन्नाथ थपलिया ?
किशोर अवस्थादेखि नै विद्यार्थी राजनीतिमा होमिएका जगन्नाथ थपलिया गत मंसिर ४ मा भएको निर्वाचनमा चितवन क्षेत्र नम्बर १ (ख)बाट निर्वाचित भएका हुन् । चितवनको माटोमा स्थापित सादगी कम्युनिस्ट नेता स्व. जागृत प्रसाद भेटवालको झल्को मेटाउने थपलिया ‘जेएन’ उपनामले पनि परिचित छन् । उनलाई पूर्वी चितवनका जनताले ‘दोस्रो भेटवाल’ भनेर सम्बोधन गर्ने गर्छन् ।
२०२८ सालमा दोलखाको खिमावती माविको स्ववियु सचिव बनेर विद्यार्थी राजनीतिमा उदाएका थपलिया २०३१/२०३२ सालसम्म आइपुग्दा तत्कालीन पार्टी कोअर्डिनेशन केन्द्रमा आबद्ध भएका थिए ।

सक्रिय राजनीतिमा अघि बढिरहेका उनी २०३६ सालमा मिनभवन क्याम्पसको स्ववियु सभापति भए । २०३९ सालमा पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको केन्द्रीय सचिव भएका उनले २०४० सालदेखि ४४ सालसम्म ४ वर्ष राजकाज मुद्दा खेप्नु परेको थियो ।
उक्त मुद्दाका कारण थपलियाले केही समय सेन्ट्रल जेलमा बस्नु परेको थियो । थपलियाले पटकपटक गरी ५ वर्ष जेल जीवन बिताएका छन् । उनी माओवादीको सशस्त्र आन्दोलनका दौरानमा पटक/पटक अपहरणमा परे ।

राजनीतिलाई कमाइको पेसा बनाइनु हुँदैन भन्ने धारणा अवलम्बन गर्ने थपलिया सुरुमा शिक्षण पेसामा आवद्ध थिए । व्यवस्थापन संकायमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका उनी २०६५ देखि २०६७ सालसम्म चितवन, भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको प्रमुखको जिम्मेवारीमा थिए ।

को हुन् उद्धव थापा ?

२०२४ माघ ८ गते काठमाडौं, नागार्जुन नगरपालिका–५, थापा चोकमा जन्मिएका उद्धव थापाको राजनीतिक यात्रा विद्यार्थी जीवनदेखि नै सुरु भएको थियो । थापाको पारिवारिक पृष्ठभूमि पनि राजनीतिसँग जोडिएको छ ।

उनका पिता प्रेम बहादुर तत्कालीन समयमा ३ पटक प्रधानपञ्च बने । जसका कारण उनी पनि राजनीतिका विद्यार्थी बन्न पुगे । स्कुले जीवनदेखि राजनीतिलाई नजिकबाट नियालेका थापाले कानुन र शिक्षा शास्त्रमा स्नातकसम्मको अध्ययन गरेका छन् ।
नेपाल ल क्याम्पसबाट बीए.एल.एल.बी गरेका उनले महेन्द्र रत्न कलेजबाट शिक्षा शास्त्रमा स्नातक गरेका छन् ।

उनी विद्यार्थी जीवनदेखि नै राजनीतिमा होमिएका थिए भने २०४१ सालबाट चुनावी अनुभव समेट्न थाले । २०४१ सालमा उनी आफू अध्ययनरत कलेजको स्ववियुको निर्वाचनमा कोषाध्यक्ष पदमा राष्ट्रिय स्वतन्त्र विद्यार्थी समूहबाट उम्मेदवार थिए ।
उनी २०४६ सालको परिवर्तनपछि भने राप्रपामा आवद्ध भए । जहाँबाट उनको वास्तविक राजनीतिक जीवनको यात्रा सुरु भएको थियो । प्रारम्भमा उनी राप्रपाको विद्यार्थी संगठनमा आवद्ध भए । पार्टीमा आवद्ध भएको २ वर्षपछि उनी २०४९ मंसिमा राप्रपाको भ्रातृ संगठन प्रजातान्त्रिक विद्यार्थी संगठनको संस्थापक उपाध्यक्ष भए ।

विद्यार्थी संगठनमा रहँदा नै उनी पार्टीको महाधिवेशन प्रतिनिधि भएर २०५० सालको महाधिवेशनमा सहभागी भए । उक्त महाधिवेशनले पार्टी कार्यसमिति सर्वसम्मत छनौट गरेको थियो । २०५४ साल सितापाइला गाविसको अध्यक्ष पदको उम्मेदवार बने । जहाँ उनी कांग्रेसका उम्मेदवारसँग ७१ मतले पराजित भए । २०५६ सालसम्म विद्यार्थी संगठनको उपाध्यक्ष भएर काम गरेका थापा त्यसपछि भने पार्टीको युवा संगठनमा आवद्ध भए । सो समयमा उनी भुवन पाठक अध्यक्ष रहेको राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको उपाध्यक्ष भए ।

करिव १० वर्ष उक्त संगठनको उपाध्यक्ष भएका उनले २०६६ बाट वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाए । राप्रपा २०६२/२०६३ को परिवर्तनपछि २०६४मा राप्रपा नेपाल बन्न गयो । उनले पार्टीको विद्यार्थी र युवक दुवैमा अध्यक्षको भूमिका भने लिन पाएनन् ।

विद्यार्थीबाट युवक संगठन हुँदै उनी २०६६ पछि पार्टीको मुल समितिमा आवद्ध भए । २०६६ मा उनी राप्रपा नेपालको आमन्त्रित केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेर काम गरे । केन्द्रीय सदस्य मनोनित भएको ४ वर्षपछि २०७० मा भएको महाधिवेशनबाट उनी केन्द्रीय सदस्य निर्वाचित भए ।
साभारः रातोपाटीबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here