बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल को हुन् ?

0
211

हेटौंडा, २५ पुस/बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल नियुक्त भएका छन् ।

उनी नेकपा एमालेका ३७,नेकपा माओवादी केन्द्रको २१,राप्रपाको १३,नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पाटीका २ जना प्रदेशसभा सदस्य गरी ७० प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । 

सत्ता साझेदार दलको भागवण्डा अनुसार आलोपालो हुने बागमती प्रदेशमा माओवादी केन्द्रले पहिलो चरणको नेतृत्व पाएको हो । १ सय १० सिट रहेको बागमती प्रदेशमा सरकार बनाउन ५६ सिट आवश्यक रहन्छ ।

यस अघि दुईपटक प्रदेश सरकारको मन्त्री भएका जम्कट्टेल धादिङ १ (ख) बाट निर्वाचित भएका हुन् । उनी यस अघिको कार्यकालमा आन्तरिक मामिला तथा कानुनमन्त्री र आर्थिक मामिला तथा योजना मन्त्री भएका थिए । 

को हुन् जम्कट्टेल ?

२०३० साल भदौमा साविकको किराञ्चोक गाविस वडा नम्बर ९ मा जन्मिएका जम्कट्टेल हाल माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवम् धादिङ जिल्ला इन्चार्ज  हुन् । बीए,बीएलसम्मको अध्ययन गरेका जम्कट्टेलले २०४४ सालमा अखिल छैटौंमा आवद्ध भएर विद्यार्थी राजनीति सुरु गरेका थिए । २०४८ औद्योगिक मजदुर संगठनको ललितपुर जिल्ला कमिटी सदस्य हुँदै केन्द्रीय कोषाध्यक्ष सम्म बने । माओवादी जनयुद्ध सुरु भएपछि उनी त्यसमा निरन्तर क्रियाशील रहे ।

२०६० सालबाट एक दशकभन्दा बढी समय माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष बनेका जमकट्टेल २०६३ सालमा अन्तरिम बिधायक र २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा धादिङ क्षेत्र नम्बर ३ बाट एमालेका प्रभावशाली नेता राजेन्द्र पाण्डेलाई पराजित गरेका थिए ।

 यद्यपि त्यसको पैचो पाण्डेले २०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा लिएका थिए । २०७४ मा भने जम्कट्टेलले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका प्रभात किरण सुवेदीलाई पराजित गरे ।

उक्त निर्वाचनमा जमकट्टेले २३ हजार ३८२ मत ल्याई प्रदेश सांसदमा विजयी हुँदा उनको प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रभात किरण सुवेदीले १० हजार ४०७ मत ल्याएका थिए । यो निर्वाचनमा जमकट्टेल सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा फेरी धादिङ १ को प्रदेश २ बाट विजयी भए। उनका एक छोरी र श्रीमती छन् । जम्कट्टेलले  फ्रान्स,ज्विजरल्यान्ड, पेरु, चाइना, जापान, कोरिया, थाइल्यान्ड, फिलिपिन्स, सिंगापुर, श्रीलंका, इन्डोनेसिया र इन्डियाको भ्रमण गरेका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here