काठमाडौं, २५ पुस/बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकले प्रदेश सरकार, प्रदेशको सभामुख र उपसभामुखको बाँडफाँट टुंगो लगाएको छ ।
बैठकमा गण्डकी र लुम्बिनीमा एमालेले सरकार बनाउने, वागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने, मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो सरकार बनाउने र कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको बालुवाटार उच्च स्रोतले जानकारी दिएको छ ।
आइतबार प्रदेश १ मा भने नेकपा एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउत सहभागी रहेका थिए ।
सत्ता साझेदार दलहरुबीच प्रदेशका सभामुख र उपसभामुखको पनि भागबण्डा भएको छ । आइतबार साँझ बसेको सत्ता साझेदार दलका शीर्ष नेताको बैठकले मुख्यमन्त्रीसँगै सभामुख उपसभामुख पनि टुंगो लगाएको हो । जसमा माओवादीले चारवटा प्रदेशको सभामुख पाएको छ भने एमालेले २ वटा र राप्रपाले १ प्रदेश सभामुख पाएको छ । बालुवाटार स्रोतका अनुसार एमालेले मधेश र कर्णाली प्रदेशमा सभामुख एमालेले लिने सहमति भएको छ भने माओवादी केन्द्रले प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा सभामुख पाउने भएको छ ।
त्यसैगरी बाग्मती प्रदेशको सभामुख राप्रपाको भागमा पर्दा प्रदेश १ र गण्डकीको उपसभामुख एमालेको भागमा परेको छ । माओवादी केन्द्रले बागमती र कर्णालीमा उपसभामुख पाउँदा लुम्बिनीको उपसभामुख राप्रपाले पाएको छ ।
मधेश प्रदेशको उपसभामुख जनमत पार्टीले लिने र सुदूरपश्चिम प्रदेशको उपसभामुख नागरिक उन्मुक्ति पार्टीलाई लिने गरी सहमति भएको छ ।
(रातोपाटीबाट)