हेटौंडा, २४ असोज/आज बागमती प्रदेश सभाको बैठक बस्ने भएको छ । बागमती प्रदेशको सरकारले असोज २४ गतेका लागि प्रदेश सभाको नवौं अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई सिफारिस गरे बमोजिम आज ३ बजे प्रदेश सभाको बैठक बस्न लागेको हो ।

आज बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आजै विश्वासको मत लिने सम्भावना नरहेको नेकपा एमालेका एक सांसदले जानकारी दिए । 

संसद सचिवालयले भने शनिबार साँझसम्म आज हुने सम्भावित कार्यतालिका तय गरेको छैन । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरी खड्काले आजै ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिले नै आजको विषय टुंगो लगाउने बताएका छन् ।

शाक्यले असोज २४ गतेका लागि प्रदेशसभा आह्वान गरेर विश्वासको मत लिने प्रस्ताव राख्‍ने र २५ गते मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तयारी गरेता पनि निर्णय एकिन नभएको एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दिपक निरौलाले जानकारी दिए ।

एमाले विभाजन भएसँगै बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । एमालेका १३ सांसदले विभाजनपछि नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि शाक्यले विश्वासको मत दिन लागेकी हुन् । 

बागमती प्रदेशसभाका कुल १०९ सांसदमध्ये एमालेमा ४३, कांग्रेसमा २२, माओवादीमा २३, समाजवादीमा १३, विवेकशील साझामा ३, नेमकिपामा २, राप्रपामा २ र स्वतन्त्र सांसद एक जना छन् । 

विश्वासको मत पाउन शाक्यलाई ५७ मत आवश्यक पर्छ । गठबन्धनमा रहेका दलहरुको बहुमत रहेका कारण शाक्यले विश्वासको मत पाउने सम्भावना न्यून छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here