चितवन, १८ मंसिर/भरतपुर कारागारको सुरक्षामा खटिएका दुईजना प्रहरीलाई निलम्बन गरिएको छ । प्रहरी जवान अन्जन कार्की र सुरेश लामालाई अनुसन्धानका लागि निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्यबहादुर थापाले बताए ।

कैदी रेशमलाल श्रेष्ठ भागेको घटनामा मिलेमतो गरेको आशंकामा जिल्ला प्रहरी कार्यालय चितवनले उनीहरुलाई निलम्बन गरेको हो । मंसिर ११ मा साँझ जबर्जस्ती करणी मुद्धाका ४५ वर्षीय रेशमलाल १५ फिट अग्लो पर्खाल नाघेर भागेका थिए ।

सो घटना छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको नेतृत्वमा छानविन समिति गठन गरिएको थियो । समितिले प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाइसकेको छ ।

कालिका नगरपालिका घर भएका कैदी रेशमलालको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । साउन २० मा जबरजस्ती करणी मुद्धाको फैसला भएपछि उनलाई सजाय भुक्तानका लागि कारागार पठाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here