काठमाडौ, ३० असोज/प्रधानमन्त्री केपी शर्मा ओलीले बुढीगण्डकी आयोजनामा अबौं भ्रष्टाचार गरेको भन्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले लगाएको आरोपमा सत्यता नभएको बताएका छन्। 

शुक्रबार ६५ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही दिनअघि  भट्टराईले लगाएको आरोपको खण्डन गरेका हुन् । 

बाबुरामले प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्बौ घुस लिएको आरोप लगाएका थिए । यो आरोपका सम्बन्धमा पहिलो पटक बोल्दै ओलीले गलत सूचनाको प्रचार भएको बताएका हुन् । बाबुरामको नाम नलिइकन प्रधानमन्त्री ओलीले यसलाई गैरजिम्मेवार अभिव्यक्तिको संज्ञा दिए । 

‘नेपाल सरकार भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिका साथ अगाडि बढेको छ । हुन त केही गैरजिम्मेवार तत्वहरु गैरजिम्मेवार तरिकाले बोलेर हिँडेको पनि मैले सुनेको छु’, पूर्वप्रधानमन्त्री बाबुरामप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘एउटा निर्णय नभएको,  कार्यआरम्भ नभएको र त्यो हुन्छ हुँदैन, कसले गर्छ, कसरी गर्छ भन्ने टुंगो नभएको कुरोमा  पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीले यति अर्ब बाँडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु । त्यस्ता गैरजिम्मेवार अभिव्यक्ति निराधार हुन् ।’ 

उनले देश र जनतलाई गलत सूचना दिएर, भड्काएर गलत बाटोमा लाग्ने हर्कत आफूहरुले कहिल्यै नगर्नेसमेत बताए । ‘अभिव्यत्ति एउटा कुरा हो । तर, हामी त्यस्तो गैरजिम्मेवार र अनुत्तरदायी हुन सक्दैनौँ । देश र जनतालाई गलत सूचना दिएर, भ्रममा पारेर,  भड्काएर,  गलत बाटोमा लाने हर्कत हामी गर्दैनौँ’, प्रधानमन्त्री ओलीले भने, ‘हामी सत्य निष्ठा र जिम्मेवारीका साथ मात्र अगाडि बढ्छौँ ।’ 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here