काठमाडौं,२९ भदौं/कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक स्वास्थ्य उपकरण खरिद प्रक्रियामा विवादास्पद रहेको ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल (ओबीसीआई) लाई सरकारले एक वर्षका लागि कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमनको कार्यालयले एक सूचना प्रकाशित गर्दै स्वास्थ्य उपकरण खरिद प्रक्रियामा विवादीत ओम्नीलाई एक वर्षसम्म अन्य खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको हो ।

सार्वजनिक खरिद अनुगमनको कार्यालयले स्वास्थ्य सेवा विभागको सिफारिसमा आज अर्थात सोमबारबाट लागू हुने गरी ओम्नीलाई कालोसूचीमा राखेको जानकारी गराएकोे छ ।

स्वास्थ्य सेवा विभागले पहिलो पटक स्वास्थ्य सामाग्री खरिद गर्दा अनियमितता भएको देखिएपछि गत चैत १९ गते ओम्नीसँग भएको स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द गर्ने समेत निर्णय गरेको थियो ।

कोरोना भाइरसको संक्रमण देखिएसँगै विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन ओम्नी समूहसँग सम्झौता गरेको थियो । तर, बिना प्रतिस्पर्धा निकै महंगो मूल्यमा उपकरण खरिदको सम्झौता गरिएको भन्दै सरकारको आलोचना भएको थियो ।

सरकारले ओम्नीलाई कालोसूचीमा नराख्ने मनसाय देखाएपछि चौतर्फी दबाब परेको थियो । ओम्नीसँगको खरिद प्रक्रियामा भ्रष्टाचार भएको खुलेपछि सरकारले जीटूजीमार्फत औषधि खरिद गर्ने जिम्मा नेपाली सेनालाई दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here