काठमाडौं, २६ भदौं/गएको १० असारदेखि जारी नेकपाको स्थायी कमिटी बैठक आज सकिएको छ। झन्डै डेढ महिनादेखि अवरुद्ध बैठक आज बसेर सकिएको हो।

आजको बैठकमा यसअघि प्रस्तुत भएका कार्यसूची सम्बोधन गर्ने गरी २ अध्यक्षले प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव सबै सदस्यलाई वितरण गरिएको थियो । त्यसबारे आज १३ जना सदस्यले धारणा राखेका छन्।

बैठकले गरेका निर्णयबारे जानकारी दिँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको महत्व आत्मसात् गर्दै पार्टीलाई सुदृढ बनाउने संकल्प गरेको जानकारी दिए।

पार्टीलाई विधि र पद्धतिमा संस्थागत ढंगले चलाउने, कमीकमजोरी सच्याएर अगाडि बढ्ने, यसअघि भएका निर्णय कार्यान्वयन गर्ने निर्णय पनि बैठकले गरेको छ।

अध्यक्ष केपी ओली सरकार सञ्चालनमा केन्द्रित हुने र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अधिकारसहित पार्टी कामको नेतृत्व गर्ने सहमति भएको छ।

सरकार पार्टीको मार्गनिर्देशनमा सञ्चालन हुने तर दैनिक काममा हस्तक्षेप नगर्ने सहमति पनि भएको छ। तर राष्ट्रिय महत्वका विषयमा निर्णय गर्दा भने पार्टीको निर्देशन केन्द्रमा राख्ने निर्णय भएको छ।

सरकारले प्रस्तुत गर्ने विधेयकका सैद्धान्तिक पक्षबारे केन्द्रीय कमिटिमा छलफल गरेर अगाडि बढ्ने निर्णय पनि भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

पार्टीको एकता महाधिवेशन ०७७ चैत २५ देखि ३० गतेसम्म गर्ने निर्णय पनि स्थायी कमिटीले गरेको छ।

बिहान ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको बैठकको सुरुमै मन्तव्य राखेर अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली बाहिरिएका थिए। बैठकमा ओलीले दुई अध्यक्षले तयार पारेको प्रस्तावका बारेमा आफ्ना धारणा राखेका थिए।

ओली २० मिनेट आफ्ना धारणा राखेपछि बैठक सञ्चालनको जिम्मा दाहाललाई दिएर बाहिरिएका हुन्।त्यसपछि वरिष्ठ नेता माधवकुमार नेपाल तथा नेताहरु देव गुरुङ, लिलामणि पोखरेल, घनश्याम भुसाल, मात्रिका यादव, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त, भीम आचार्यलगायतले बालेका थिए।

उनीहरुले अध्यक्षद्वयले राखेको प्रस्तावका बारेमा कुरा राखेका थिए। बैठकमा नेता नेपालले आफ्नो १५ बुँदे असहमतिका विषयमा भनाइ राखेका थिए।उनले आफ्नो विषय प्रस्तावमा नसमेटिएको भन्दै कडा रुपमा प्रस्तुत भएको बताइएको छ। अध्यक्षद्वयले सहमति गरेर मात्रै नहुने उनको धारणा थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here